काठमाडौं । नेकपा एकीकृत समाजवादीले तत्काल सरकारमा जाने कुनै तयारी नभएको स्पष्ट पारेको छ। सोमबारबाट काठमाडौंमा सुरु समाजवादीको पोलिट्व्युरो बैठकले सरकारमा सहभागी हुन कुनै औपचारिक प्रस्ताव नआएको र सरकारमा जाने कुनै तयारी नरहेको स्पष्ट पारेको हो।
बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले अहिले सरकारमा जाने वा नजाने भन्दा पनि सरकारलाई हेर्ने दृष्टिकोणका बिषयमा छलफल भएको बताए । सरकारमा सहभागी हुनका लागि कतैबाट पनि औपचारिक प्रस्ताव नआएको अवस्थामा सरकारमा सहभागीको प्रश्न नै नउठ्ने उनको भनाइ छ।
बैठकमा समसामयिक राजनीति, नयाँ सरकार, संगठन निर्माणबारे २० जना सदस्यहरुले धारणा राखेको राखेका थिए । खतिवडाले लामो समय सहकार्य गरेको प्रचण्डको नेतृत्वमा सरकार गठन भएको अवस्थामा नीतिगत निर्णय गर्नका लागि बैठक राखेको जिकिर गरे । उनले विकसीत राजनीतिक अवस्थामा पार्टीले परिपक्व ढंगले निर्णय गर्ने बताए।
बाहिरी राजनैतिक बृत्तमा भने समाजवादी भित्र सरकारमा जाने मत भित्र भित्रै डढेलोको रुपमा सल्किएको र बैठकले तुरुन्तै सरकारमा जाने निर्णय गर्ने दाबी गरिएको थियो । आजको सो पार्टीको बैठकले भने सो आंकलनलाई भित्ता लगाउँदै ठिक उल्टो निर्णय गरेको हो । यद्धपि समाजबादीको बैठक भोलि पनि बस्ने छ ।
त्यसअघि पोलिटब्यूरो बैठकको सुरुमै अध्यक्ष माधवकुमार नेपालले देशको हितलाई केन्द्रविन्दुमा राखेर अघि बढ्न चाहेको बताएका थिए। एकीकृत समाजवादीले गत मंसिरमा भएको चुनावमा प्रतिनिधि सभातर्फ १० सिट जितेको थियो तर राष्ट्रिय पार्टी भने बन्न सकेको थिएन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
