नयाँ सांसदहरूको शपथ ग्रहणको तयारीमा जुट्यो संसद सचिवालय

काठमाडौं । संघीय संसद सचिवालय प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यलाई शपथ ग्रहणको गृहकार्यमा जुटेको छ।नवनिर्वाचित मध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ ग्रहण गराएपछि अरू सदस्यलाई पद तथा गोपनीयताको शपथ गराइने भएकाे हाे। ज्येष्ठ सदस्य पहिचानका लागि सचिवालयले यसअघि नै विवरण खुलाइ पठाइदिन निर्वाचन आयोगलाई पत्रचार गरिसकेको छ।

हाल नवनिर्वाचित सदस्य मध्ये चित्रबहादुर केसी, महन्थ ठाकुर, महिन्द्रप्रसाद यादव र पशुपति शमशेर जबराको उमेर यकिन गर्नुपर्ने देखिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले यहि पुस १० गतेभित्र प्रधानमन्त्रीका लागि दावी पेश गर्न ७ दिनको समय दिएर आह्वान गरी सक्नुभएको छ।

Advertisement

कुनै सदस्यले मातृभाषामा शपथ लिन चाहेमा शपथको ३ दिनअघि शपथ पत्रमा उल्लेख हुने विवरण तत्–तत् भाषामा उल्था गरी त्यससम्बन्धी जानकारी संसद सचिवालयलाई दिनु पर्नेछ। सचिवालय प्राप्त तथ्यांक अनुसार प्रतिनिधिसभा सदस्य २०७४ को निर्वाचनपछि करिब ४६ सदस्यले नेपाली बाहेकका ११ मातृ भाषामा शपथ लिएका थिए।

उनीहरुले मैथिली, थारु, भोजपुरी, मगर, हिन्दी, अवधि, नेपाल भाषा, बञ्जिका, नेवारी र उर्दु, तामाङ भाषामा शपथ लिएका थिए। सचिवालयले शपथसँगै नवनिर्वाचित सदस्यलाई संघीय संसदकाे प्रतिक चिह्न (लोगो) प्रदान गर्नेछ। शपथ ग्रहणको दिन हालसम्म यकिन भइनसके पनि आगामी पाँच दिनभित्रै त्यो समारोह नयाँ बानेश्वरस्थित संसद भवनमा हुने संसद सचिवालय जनाएको छ।

सोही समारोहमा सदस्यलाई नेपाली उत्पादन अल्लोको झोलासहित नेपालको संविधान, डायरी, कलम, संसद सम्बन्धी नियमावली, निर्देशिका, अन्य प्रकाशन उपलब्ध गराइने सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताउनुभयाे।

More News last news
Loading...