काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले आफूखुसी अमेरिकाको नागरिकता पाएपछि नेपाली नागरिकता कायम नरहेको अवस्थामा पदाधिकारी रही दल दर्ता गरेको, उम्मेदवारी दिएको र निर्वाचित समेत भएको भन्दै रिटमा निर्वाचन आयोगले संविधान र ऐनको गम्भीर उल्लङ्घन गरेको दावी गरिएको छ।
रिटमा रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ।
सिन्धुली घर भएका युवराज पौडेल सफलले संवैधानिक इजलासमा दायर गरेको रिटमा लामिछानेको सांसद पदसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि खारेज गर्न माग गरिएको छ।
मुद्दाको अन्तिम किनारा नभएसम्म लामिछानेलाई प्रतिनिधिसभा सदस्यको रुपमा उपस्थित हुन र कार्य गर्न सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरी रोक लगाउन रिटमा माग गरिएको छ।
रिटको पेशी आगामी पुस ६ गते बुधबारका लागि तोकिएको रिट निवेदनकर्ता पौडेलले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
