काठमाडौं । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–५ मा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका छन्। सर्लाहीको हरिपुर्वा नगरपालिका–५ स्थायी ठेगाना भई फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय शनिबार बिहान सुतेकै ठाउँमा मृत भेटिएका हुन्।
गएराति मतदान केन्द्रमै सुतेका राय आज बिहान ४ बजे अन्य कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलेखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी रामकिशोर साहले जानकारी दिए।
रायलाई लामो समयदेखि सुगर र मुटुको समस्या रहेको पाइएको उनले बताए। राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत थिए।
धनकुटामा पनि निर्वाचनमा खटिएकी कर्मचारीको मृत्यु
साँगुरीगढी गाउँपालिका–३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी ३५ वर्षीया पवित्रा याख्खा लिम्बूको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीका शुक्रबार अपरान्ह मृत्यु भएको हो।
मतदान केन्द्रमा आयोजित सर्वदलीय बैठकमा सहभागी भएर घर फर्किँदै गर्दा लिम्बू अचानक बेहोस भएर लडेकी थिइन्। उपचारका लागि धरान लैजाने क्रममा गर्दा बाटैमा उनको मृत्यु भएको प्रहरी जनाएको छ।
सीतादेवी मावि खरखोलेकी शिक्षिका उनी मतदान केन्द्रमा सहायक कर्मचारीका रूपमा खटिएकी थिइन्। प्रहरीका अनुसार उनलाई उच्च रक्तचापको समस्या थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
