काठमाडौं । सरकार र निर्वाचन आयोगले आइतबार हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोगले ढुक्क भएर मताधिकार प्रयोग गर्न मतदातालाई आग्रह पनि गरेको छ।
एकै चरणमा हुन लागेको संघ–प्रदेशको चुनाव गराउन निर्वाचन सामग्रीसहित २ लाख ४६ हजार ९६० कर्मचारी मतदानस्थल पुगिसकेका छन्। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी करिब ३ लाख जनशक्ति परिचालन गरिएको छ। मतदानका लागि खटिएका कर्मचारीले आवश्यक प्रबन्ध शनिबारसम्म मिलाइसक्ने निर्वाचन आयोगले जनाएको छ।
गृहमन्त्री बालकृष्ण खाणले पनि निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन सरकारले आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकेको जनाएका छन्। उनले ढुक्क भएर मताधिकार प्रयोग गर्न पनि सबैलाई आग्रह गरेका छन्।
सरकारले विगतमा मतदान केन्द्रमा भएका हस्तक्षेप तथा मतपेटिका लुटपाटका घटनाबाट पाठ सिक्दै यसपटक मतदान प्रक्रिया र मतपेटिका लुटपाटका प्रयास भए सुरक्षा निकायलाई गोली हान्नेसम्मको अधिकार दिएको छ। निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्था हुनेछ।
कुनै मतदान केन्द्रमा विवाद भए १० मिनेटभित्रमा पुग्न सक्ने गरी प्रहरीको रिजर्भ फोर्सको पनि व्यवस्था गरिएको छ भने आधा घन्टाभित्र नेपाली सेनासमेत पुग्ने गरी अस्थायी ‘अपरेटिङ बेस’ स्थापना गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
