संविधान मिचिने खतरा बढेकाले गठबन्धन : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन अहिलेको आवश्यकता भएको बताउनुभएको छ। गृहजिल्ला डडेलधुराको भागेश्वर गाउँपालिका–४ बोगटामा आयोजित चुनावी सभालाई बुधबार सम्बोधन गर्नुहुँदै प्रधामन्त्री देउवाले संविधान मिचिने खतरा बढेकाले गठबन्धन गरिएको बताउनुभएको हो।

संविधानको रक्षासँगै देशलाई समृद्ध बनाउन गठबन्धन अझै लामो समयसम्म गर्नुपर्ने आवश्यक रहेको उहाँको भनाइ छ। गठबन्धन जोगाउन मङ्सिर ४ गतेको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन उहाँले मतदातासँग अपिल गर्नुभयो।

Advertisement

उहाँले भन्नुभयो, ‘‘तपाईंहरुलाई थाहा छ। केपी ओलीले संविधान मिच्न खोज्नुभयो। त्यो पनि दुई–दुई पटक। उहाँहरुले गठबन्धनको सरकार बनाएपछि राजनीतिक स्थिरता होला, देशमा विकास होला, देश समृद्ध हुन्छ भन्ने तपाईं हामी सबैलाई लागेको थियो। तर, उहाँले उल्टो गर्नुभयो। दुःख गरेर बनाएको नयाँ संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेर देशमा फेरि राजनीतिक अस्थिरता ल्याउन खोजियो।

त्यसकारण हामीले गठबन्धन गरेका हौँ। संविधान मिच्नबाट जोगायौं। विकास निर्माणका धेरै काम अघि बढेका छन्। अझै गठबन्धनलाई लामो समयसम्म कायमै राखेर हामी देशमा विकास गर्न चाहन्छौं।’’ चुनावी प्रचारप्रसारका लागि प्रधानमन्त्री देउवा बुधबार दोस्रो पटक गृहजिल्ला डडेलधुरा पुगेर चुनावी सभालाई सम्बोधन गर्नुभएको हो।

उहाँले भागेश्वर गाउँपालिका विकट रहेको र प्रायः सबै गाउँमा सडक पुगेको उल्लेख गर्नुहुँदै अब सडक कालोपत्र गरिने बताउनुभयो। सदरमुकाम बागबजारदेखि बगरकोट–शीर्ष–रुपालसम्मको सडक कालोपत्र गर्ने काम भइरहेको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, ‘‘अब चाँडै बगरकोट–बोकटा–गर्खा–लामीकाँडे सडक कालोपत्र गर्नेछौँ।’’

खेतबारीमा सिँचाइको समस्या रहेको भन्दै उहाँले सिँचाइको व्यवस्था गर्ने र यहाँका गाउँबस्तीमा भएको खानेपानीको समस्या समाधान गर्ने बताउनुभयो। ‘‘बोगटा गाउँमा एकघर एकधारा खानेपानी योजना सम्पन्न भएर खानेपानीको समस्या हटेको छ’’, उहाँले भन्नुभयो, ‘‘यसैगरी भागेश्वरका सबै गाउँलाई खानेपानीको समस्याबाट मुक्त बनाउँछु।’’

प्रधामन्त्री देउवाले बुधबार बोगटासँगै अमजयमेरु गउँपालिका–५ को देवल र गन्यापधुरा गाउँपालिका–३ को सकायलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुभएको छ।

More News last news
Loading...