‘निर्वाचनको १७ दिनअघि प्रचारप्रसार गरे आचारसंहिता उल्लंघन’
अरु नराम्रो भनी प्रचार गर्न पनि नपाइने
काठमाडौं l निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका दल तथा उम्मेदवारले अहिले नै सभा, गोष्ठी, अन्तरक्रिया वा जुलुसजस्ता कार्यक्रम गर्न नपाइने बताएको छ।
निर्वाचन आयोगमा आचारसंहितासमेत हेर्ने आयुक्त रामप्रसाद भण्डारीले मतदानको दिनभन्दा १७ दिनअघिदेखि मात्र उम्मेदवारले यस्ता कार्यक्रम गर्न पाइने बताए।
उनका अनुसार उम्मेदवार तथा दलहरूले घरदैलो कार्यक्रममा जाँदा पनि २५ जनाभन्दा धेरैको समूह बनाउन पाउँदैनन्। घरदैलोमा जाँदा १० वटाभन्दा बढी झण्डा प्रयोग गर्न नपाइने बताए। ‘दलहरूले कात्तिक १८ गतेदेखि मात्र प्रचारप्रसारका काम गर्न पाउने छन्’, उनले भने, ‘यो हामीले मात्र बनाएको हैन,राजनीतिक दलहरूकै परामर्शमा बनेको नीति हो।’
प्रचारप्रसार गर्दा दल वा उम्मेदवारको चिह्न वा प्रचार हुने टिसर्ट वा कुनै पनि प्रकारको ट्याग लगाउन नपाइने भण्डारीले बताए। ‘चुनावमा जित्ने उम्मेदवारहरूले भोलि नीति, नियम, कानुन बनाउने हो’, उनले प्रश्न गरे, ‘अहिलेदेखि नै निर्धारित कानुन मान्दिनँ भन्नेले भोलि कसरी कानुन बनाउलान्?’
भण्डारीका अनुसार आयोगमा आचारसंहिता उल्लंघनका थुप्रै उजुरी परेको छ। कतिपय उम्मेदवारले खाडीका लागि उधारो भिसासमेत बाँडिरहेको उजुरी परेको छ। आचारसंहिता उल्लंघन गनेलाई आयोगले स्पष्टीकरण माग्नुका साथै उम्मेदवारी रद्द गर्नेसम्मको कारबाही गर्नसक्ने प्रावधान छ।
आयुक्त भण्डारीले उम्मेदवारहरुले आफू राम्रो र अरु नराम्रो भनी प्रचारप्रसार गर्न नपाइने पनि उल्लेख गरे। उम्मेदवारहरुलाई आफ्नो घोषणापत्र अनुरुप र आफूले गर्ने कामहरुको मात्रै प्रचार–प्रसार गर्न उनको सुझाव छ।
उनले भने, ‘फलानो नराम्रो आफू राम्रो भनेर उहाँहरु प्रचार–प्रसारमा जानुभएको छ। आफू राम्रो, अर्काको दलको र स्वतन्त्र उम्मेदवार नराम्रो भन्न पाइँदैन। आफू राम्रो मात्रै भनेर जानुस् न। म यो नीति तथा कार्यक्रम गरेर जान्छु। म यो विकास निर्माणको काम गर्छु भनेर आफ्नो घोषणापत्रमा जे उल्लेख गर्ने हो त्यो सबै स्पष्ट देखिने गरी जानुस्। मेरो घोषणापत्र ठीक, अर्काको बेठीक भन्न पाइँदैन।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
