काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले समानुपातिक उम्मेदवार छान्ने ४ वटा मापदण्ड तय गरेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको केन्द्रीय संसदीय बोर्डको बैठकले समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको हो।
पाँच दलीय गठबन्धनमा सिट बाँडफाँट चलिरहे पनि समानुपातिकतर्फ बन्दसूची बुझाउने म्याद नजिकिदाँ पार्टी सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार अपराह्न संसदीय बोर्डको बैठक बोलाउनुभएको थियो।
बैठकले समानुपातिकतर्फ उम्मेदवार चयनका चार मापदण्ड तोक्ने निर्णय गरेको महामन्त्री गगन थापाले जानकारी दिनुभयो। महामन्त्री थापाको अनुसार गत स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरूले समानुपातिकतर्फ उम्मेदवारीको दावी गर्न पाउने छैनन्।
त्यस्तै, ०७४ मा समानुपातिकतर्फ उम्मेदवार भएका नेताहरूलाई समेत संघ वा प्रदेश दुवैतर्फ उम्मेदवार नबनाउने मापदण्ड तय भएको थापाले जानकारी दिनुभयो ।
बोर्डले उच्च नैतिकता, योग्यता, क्षमता भएको र उमेरको सन्तुलनलाई आधार मानेर पार्टीलाई लोकप्रिय मत थप्न सक्ने व्यक्तिलाई समानुपातिकतर्फ उम्मेदवार बनाउने मापदण्ड बनाएको महामन्त्री थापाले जानकारी दिनुभयो ।
बैठकमा संसदीय समितिमा सदस्य नरहेका नेता शेखर कोइरालासहित केन्द्रीय सदस्यहरूलाई समेत आमन्त्रण गरिएको थियो । बुधबारको बैठकले उम्मेदवार चयनका मापदण्डमात्रै तय गरेको छ ।
उम्मेदवारबारे छलफल गर्न बिहीबार दिउँसो साढे १२ बजे पुनः बैठक बस्नेछ । कांग्रेसमा केन्द्रीय संसदीय बोर्डले उम्मेदवार चयन गर्ने विधानको व्यवस्था छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले असोज २ र ३ मा समानुपातिकतर्फको सूची बुझाउनुपर्ने कार्यतालिका तय गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
