काठमाडौं । श्रमजीवी पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघले श्रम समस्या देखिएका विभिन्न सञ्चारगृहहरुमा चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । यसक्रममा जनता टेलिभिजन, जनता रेडियो र जनता अनलाइनको सञ्चालक संस्था जनता प्रसारण तथा प्रकाशन लिमिटेड र महासंघबीच ४ बुँदे सहमतिपछि आज दिउँसो १२ बजेदेखि आव्हान गरिएको धर्ना कार्यक्रम स्थगित भएको छ ।
जनता प्रसारण तथा प्रकाशन लिमिटेडको व्यवस्थापन पक्ष र महासंघका प्रतिनिधिबीच बुधवार बिहान वार्ता र सम्वादपछि ४ बुँदे सहमति भएको हो । सहमतिपत्रमा तीनवटै मिडियामा कार्यरत श्रमजीवी पत्रकारहरुले केही महिनादेखि पारिश्रमिक लगायतका सेवासुविधा नपाएको र सहमति भएकै दिनदेखि भदौ मसान्तसम्म दिइसक्न व्यवस्थापन पक्ष तयार भएको उल्लेख छ । त्यस्तै, अबदेखि नियमितरुपमा पारिश्रमिक उपलव्ध गराउन व्यवस्थापनपक्ष तयार रहेको सहमति पत्रका जनाइएको छ।
त्यस्तै, तीनवटै मिडियामा बिगतमा काम गरेका तर पारिश्रमिक नपाएका पत्रकारहरुका सन्दर्भमा महासंघसँग भएको सहमतिका आधारमा भदौ १५ गतेदेखि नै बैंक चेकमार्फत भुक्तानी दिन व्यवस्थापन पक्ष सहमत भएको र सोही आधारमा केहीलाई चेक दिइसकिएको र बाँकीलाई पनि क्रमिकरुपमा भदौ मसान्तसम्म दिइसक्न व्यवस्थापन सहमत भएको छ ।
यसैगरी संस्थामा कार्यरत पत्रकार कर्मचारीको न्यूनतम पारिश्रमिक नपुगेकाको हकमा पनि श्रमजीवी पत्रकार ऐनले तोकेअनुसारको न्यूनतम पारिश्रमिक पुर्याउन र ऐनले तोकेको सेवासुविधा दिन व्यवस्थापन पक्ष सहमत भएको छ ।
यो सहमतिपछि महासंघले पनि भदौ १६ गते टेलिभिजनमा आव्हान गरेको धर्ना कार्यक्रम स्थगित गरिएको जनाएको छ । सहमतिपत्रमा जनता प्रसारण तथा प्रकाशन लिमिटेडका तर्फबाट प्रशासन प्रमुख सन्दीप पौडेल र समाचार सम्पादक टंक पन्त तथा महासंघका तर्फबाट उपाध्यक्ष उदय जीएम र केन्द्रीय सदस्य रामकृष्ण अधिकारीले हस्ताक्षर गरेका छन् ।
नेपाल पत्रकार महासंघले विभिन्न सञ्चारगृहमा देखिएको श्रम समस्या समाधानका लागि पटक–पटक लिखित आग्रह गरेको र यही भदौ ७ गते पत्रमार्फत एक साताभित्र महासंघले उठाएका मागहरुको सम्बोधन र श्रम समस्या समाधान गर्न दिएको अन्तिम अल्टिमेटमलाई विभिन्न सञ्चारगृहबाट नजरअन्दाज गरिएपछि महासंघले ती सञ्चारगृहविरुद्ध संघर्षका कार्यक्रम घोषण गरेको हो ।
जसअन्तर्गत आज जनता टेलिभिजनले महासंघले उठाएका माग र श्रमजीवी पत्रकारको श्रम समस्या समाधान गर्न सहमति जनाएसँगै घोषित कार्यक्रमअनुसार भदौ १६ गते बिहीबार दिउँसो १२ः०० बजेदेखि १ः०० सम्म जनता टेलिभिजनमा गरिने संघर्षका कार्यक्रम स्थगित गरिएको छ । अन्यको हकमा घोषित समयअनुसार नै संघर्षका कार्यक्रम गरिने महासंघले जनाएको छ ।
नेपाल पत्रकार महासंघले नाइस टेलिभिजनमा भदौ १७ गते शुक्रबार दिउँसो १२ः०० बजेदेखि १ः०० बजेसम्म कालोपुलस्थित टेलिभिजन प्राङ्गणमा धर्ना कार्यक्रम आव्हान गरेको छ । त्यस्तै, इमेज टेलिभिजनमा भदौ १९ गते आइतबार दिउँसो १२ः०० बजेदेखि १ः०० बजेसम्म लाजिम्पाटस्थित टेलिभिजन प्राङ्गणमा धर्ना कार्यक्रमको आव्हान गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
