काठमाडौं, १४ भदौ । कुवेतको जजीरा एयरवेजले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट दैनिक उडान सञ्चालन गर्ने भएको छ । गौतमबुद्ध विमानस्थलबाट कुबेत गन्तव्यमा साताको तीन उडान गरिरहेको जजीराले आगामी भदौ ३१ (१६ सेप्टेम्बर) देखि दैनिक उडान गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले हाल सातामा तीन उडान गरिरहेको जजीराले सातै दिन उडान सञ्चालन गर्ने तयारी गरेको जानकारी दिनुभयो । एयरवेजले अहिले सोमबार, मङ्गलबार र शुक्रबार गरी सातामा तीन उडान गरिरहेको छ ।
यो गन्तव्यमा यात्रु अकुपेन्सी बढ्दो क्रममा रहेको र नजिकिएको यात्रु सङ्ख्या बढ्ने प्रक्षेपणसहित उडान सङ्ख्या थपिएको एयरवेजले जनाएको छ । कुवेती एयरलाइन्सले मध्यपूर्वका नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का र युरोपमा उडान सञ्चालन गर्दै आएको छ ।
जेठ २ गतेदेखि व्यवसायिकरुपमा सञ्चालनमा आएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजले मात्र अन्तरराष्ट्रिय उडान गरिरहेको छ । थप एयरलाइन्सले पनि भैरहवाबाट उडान सञ्चालनमा चासो देखाएको प्राधिकरणले जनाएको छ ।
बीज एयरले उडान गर्दै
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट बिज एयरवेजले पनि नियमित उडान सञ्चालन गर्ने तयारी गरेको छ । एयरवेजले आगामी कात्तिक १३ ९अक्टोबर ३० तारिख०देखि भैरहवाबाट संयुक्त अरब इमिरेट्स (युएई) को आबुधावीमा उडान भर्ने प्राधिकरणका प्रवक्ता निरौलाले बताए ।
हङ्गेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको उक्त एयरवेजले नेपालमा सातामा तीन दिन उडान गर्ने तयारी गरेको छ।योसँगै गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान भर्ने दुई एयरलाइन्स पुगेका छन्। जजीराले सुरुदेखि उडान गरिरहेको छ भने बीजले पनि छिट्टै उडान गर्ने जनाइएको छ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रियतर्फ हाल तीन नेपालीसहित २६ एयरलाइन्सले अन्तराष्ट्रिय उडान भर्दै आएका छन् । कोभिड–१९ महामारीपछि मुलुकको अन्तराष्ट्रिय उडान विस्तारै लयमा फर्कदै गरेको प्राधिकरणले जनाएको छ।
अहिले अन्तराष्ट्रियमा ७० प्रतिशत बढी अकुपेन्सी रहेको प्रवक्ता निरौलाले बताए। कोभिडपूर्व ३० भन्दा बढी एयरलाइन्सले काठमाडौँ विमानस्थल भएर उडान गर्दै आएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
