आज संसदका प्रमूख १२ दलका प्रतिनिधिसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं l निर्वाचन आयोगले आज प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दलसँग छलफल गर्ने भएको छ।

निर्वाचन आचारसंहिताको परिवर्तनको तयारी गरिरहेको आयोगले १२ दललाई छलफलमा बोलाएको हो। बैठक विहान साढे ११ बजे सुरु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। प्रवक्ता पौडेलले दलका प्रतिनिधिहरूसँग निर्वाचन आचारसंहितालगायतका विषयमा छलफल हुने जानकारी दिए। आयोगले आचारसंहिता, २०७८ मा केही परिमार्जन गर्ने तयारी समेत गरेको छ।

Advertisement

यस्तै आयोगले आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको निर्वाचन चिन्ह मात्रै मतपत्रमा समावेश गर्ने भएको छ। गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा निर्वाचनका लागि दर्ता भएको दल र स्वतन्त्र उम्मेदवारका लागिसमेत अतिरिक्त निर्वाचन चिन्ह राखेर मतपत्र छपाइ गरिएको थियो। त्यसरी मतपत्र छपाइ गर्दा मतपत्र ठूलो (भद्धा) भएको र बदरको संख्या पनि बढाएको थियो।

आयोगले आगामी निर्वाचनका लागि संघको १६५, प्रदेशतर्फ ३३०, सात प्रदेशका लागि सात र समानुपातिकका लागि एक गरी ५०३ प्रकारका मतपत्र छपाइ हुने जनाएको छ। मतदान केन्द्रमा चारवटा अलग–अलग मतपत्र, मत संकेत गर्ने स्थान र मतपेटिकाको व्यवस्था गरिने र निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी, स्वीकृति लिई सञ्चालनमा रहेको वृद्धाश्रममा रहेका मतदाता लगायतका अस्थायी मतदाता सूचीमा समावेश गरी समानुपातिकतर्फ मताधिकारका लागि आयोगले तयारी गरेको छ।

त्यस्तै आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि १० अर्ब ९८ करोड बजेट निकासा गर्न सरकारसँग माग गरेको छ। बजेटका लागि अर्थ मन्त्रालयमा पत्र पठाइसकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

More News last news
Loading...