काठमाडौं । नेकपा एकीकृत समाजवादीले मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारहरूको ८ वटा मापदण्ड तोकेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको पैतिसौं बैठकले यस्तो निर्णय गरेको हो ।
बुधबार बसेको सचिवालय बैठकले माओवादी केन्द्रसँग एकताका लागि एउटा पार्टी एकता संयोजन समिति गठन गर्ने, जसले दुई पार्टीबिचको एकता र सिङ्गो नेपाली कम्युनिष्ट आन्दोलनको एकताका सम्बन्धमा छलफल, बहसलगायतका कार्यहरू गरी एकताको वातावरण निर्माण गर्ने निर्णय गरेको महासचिव वेदुराम भुसालले जानकारी दिनुभयो ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टीको तर्फबाट उठाइने प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरूको सिफारिस एवं छनोट गर्दा पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको र विद्रोहमा सक्रिय भूमिका खेलेका तथा पार्टी निर्माणमा योगदान गरेकोलाई दिने मापदण्ड निर्माण गरेको छ ।
त्यस्तै पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ, आर्थिक एवं नैतिक आचरण राम्रो रहेको र जनतामा स्थापित एवं लोकप्रिय हुनुपर्ने मापदण्डमा उल्लेख छ ।
त्यसैगरी स्वच्छ छवि भएको र सुशासनको पक्षपाती, कार्यक्षमता राम्रो भएको, सक्रिय र समावेशिताको सिद्धान्त विपरीत नहुनेगरी उम्मेदवार छनोट गरिने महासचिव भुसालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं निर्णय गर्ने समय तालिकासमेत निर्माण गरेको छ । तालिका अनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्र तथा प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीले २०७९ भदौ १० गतेभित्र जिल्ला कमिटीमा सिफारिस गरिसक्नुपर्ने उल्लेख छ ।
जिल्ला कमिटीले २०७९ भदौ १२ गतेभित्र प्रदेश कमिटीमा सिफारिस गरिसक्ने बैठकको निर्णयमा उल्लेख छ । त्यस्तै प्रदेश कमिटीले २०७९ भदौ १५ गतेभित्र केन्द्रमा सिफारिस गरिसक्ने र केन्द्रीय कमिटीले २०७९ भदौ २० गतेभित्र निर्णय गरिसक्नुपर्ने छ ।
एकीकृत समाजवादीले बनाएको मापदण्ड यस्तो छ :
१. पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको ।
२. विद्रोहमा सक्रिय भूमिका खेलेका र पार्टी निर्माणमा योगदान गरेको ।
३. पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ ।
४. आर्थिक एवं नैतिक आचरण राम्रो रहेको ।
५. जनतामा स्थापित र लोकप्रिय ।
६. स्वच्छ छवि भएको र सुशासनको पक्षपाती ।
७. कार्यक्षमता राम्रो भएको र सक्रिय ।
८. समावेशिताको सिद्धान्त विपरीत नहुने ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
