पोखरा l नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सार्न माग गरेको छ ।
विभिन्न उपसमिति समेत गठन गरेर सरकार प्रतियोगिताको तयारीमा जुटिसक्दा कांग्रेसनिकट नेपाल लोकतान्त्रिक खेलकुद संघले सो माग गरेको हो ।
पोखरामा शुक्रबार पत्रकार सम्मेलनमा संघका अध्यक्ष देवेन्द्र शेरचनले आफूहरुलाई अपनत्वसमेत नदिइएको र दसैंतिहारको बेलामा खेलकुद प्रतियोगिता उपयुक्त नहुने भएकोले मिति परिमार्जन हुनुपर्ने बताए ।
संघले प्रतियोगितामा आफूहरुको अपनत्व हुने गरी कुनै पनि समितिमा नराखिएकोमा आपत्तिसमेत जनाएको छ । संघले मिति सार्नुपर्ने मागसहित गण्डकीमै हुने प्रतियोगितामा प्रदेशमा संघले पनि अपनत्व पाउनुपर्ने, सातै प्रदेशमा खेलकुदको लागि आवश्यक तयारी, प्रशिक्षण, छनोटबिना नै प्रतियोगिता आयोजना गरिएकोले यथेष्ट समय लिई आवश्यक पूर्व तयारी गरिनुपर्ने माग गरेको छ ।
यस्तै, खेलमैदान तथा खेलाडीको सुरक्षामा ध्यान दिंदै खेलाडीको हकहितको सुनिश्चित हुनुपर्ने, भौगोलिक अवस्थाअनुसार गण्डकीका सबै जिल्लामा उपयुक्त रहने खेलहरु सम्बन्धित जिल्लामै खेलाइनुपर्ने, अन्तर्राष्ट्रिय मापदण्डअनुसारका खेलमैदान व्यवस्था गरिनुपर्ने, प्रतियोगिताको आर्थिक हरहिसाब पारदर्शी हुनुपर्ने संघको माग छ ।
संघका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचनले खेल क्षेत्रको नेतृत्व पटक–पटक वामपन्थीले लिंदा भ्रष्टाचार बढेको भन्दै पारदर्शीरुपमा प्रस्तुत गर्न आग्रहसमेत गरे ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकी अध्यक्ष हरिश्वर पोखरेलले गण्डकीका हरेक जिल्लामा कम्तीमा १ खेल खेलाउने व्यवस्था गर्नुपर्ने माग गरे।
पोखरामा ३९ वर्षअघि दोस्रो संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता भएको थियो । झण्डै ४ दशकपछि आगामी असोज २८ देखि कात्तिक ३ सम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडी र प्रशिक्षक गरी करिब ९ हजार जनाको सहभागिता हुनेछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
