गण्डक ब्यारेजका सबै ढोका खोलियो, कोसी ब्यारेजमा रातो बत्ति

परासी । नारायणी नदीमा पानीको सतह बढ्न थालेपछि गण्डक बाँधका सबै ३६ वटै ढोका खोलिएको छ। दुई दिनदेखि परेको वर्षाले पूर्वी नवलपरासीको त्रिवेणी ब्यारेजस्थित गण्डक बाँधको ढोका खोलिएको हो।

गण्डक बाँधको ढोकाको चाँवी सधैं भारतले राख्ने गरेको छ l देवघाटस्थित जलमापन केन्द्रले नारायणी नदीको पानीका सतह खतरा नजिक पुगेको जनाएपछि तल्लो क्षेत्र (तटीय क्षेत्र)मा समेत खतरा बढ्न सक्ने भन्दै भारतले ढोका खोलेको हो।

Advertisement

पानीको सतह बढेर खतरा बढ्न थालेपछि भारतले यसरी नै ढोका खोलिदिने गरेको छ । ढोका नखोले नवलपरासीका ४० बढी गाउँ डुबानमा पर्छन् । नारायणी नदीमाथि निर्माण गरिएको ब्यारेजले पूर्वी नवलपरासीको त्रिवेणी र भारतको बिहार प्रदेशस्थित भैंसालोटन जोडेको छ ।

प्रति सेकेण्ड साढे ८ लाख क्यूसेक बेगको पानी धान्ने क्षमता गण्डक बाँधको हो । पुरानो बाँध भएका कारण संरचनाहरु जीर्ण हुँदा अहिले ब्यारेजले साढे ४ लाख क्यूसेकभन्दा बढी पानी धान्न नसक्ने भूआर्जन तथा जनसम्पर्क कार्यालय भैंसालोटनका भूआर्जन अधिकारी अमित खड्काले बताउनुभयो । ३ लाख ६७ हजार पुगेपछि खतराको लेबल मानिन्छ । अहिले २ लाख ९७ हजार प्रति सेकेण्डको बेगले पानी बगेको छ । पानी परिरहेकाले कुनै पनि समय खतरा नजिक पुग्न सक्ने छ ।

यसैबीच पानीको सतह बढ्न थालेपछि तटीय क्षेत्रका स्थानीयलाई उच्च सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । संभावित जोखिममा पर्न सक्ने स्थानीयहरुको व्यवस्थापन र उद्दारका लागि सुरक्षाकर्मीहरुलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिनुभयो ।

कोसी ब्यारेजमा रातो बत्ती बालियो

सप्तकोसी नदीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरूप रातो बत्ती बालिएको छ । सप्तकोसीमा मंगलबारर पानीको बहाव प्रतिसेकेण्ड २ लाख २९ हजार ८ सय १० क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

यादवले पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५६ मध्य ३३ ढोका खोलिएको बताउनुभयो । सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछी खतरा मानिन्छ ।

भारतको नियन्त्रणमा रहेको कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण कोसी गाँऊ पालिका र बराहक्षेत्र नगरपालिकाको खेती योग्य जमिन र मानव बस्ती डुवानमा परेको छ ।

कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण सप्तकोसीले श्रीलंका टापुको जमिन कटान गर्न थालेको स्थानिय शिक्षक सन्तोष चन्द्रबंसीले बताउनुभयो ।

उहाँले सप्तकोसीमा बाढी आएको समयमा सबै ढोका खोलेर कोसी आसपासका सर्विसाधारणको अबस्था सहज बनाइदिन सरकारसँग माग गर्नुभयो ।

सप्तकोसीमा सोमबारदेखि नै पानीको बहाव निरन्तर बढिरहेको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो ।

उहाँले कोसीको बाढीबाट हुने सम्भावित क्षतिलाई नियन्त्रण गर्न गोताखोर सहितको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तयारी अबस्थामा राखिएको जानकारी दिनुभयो ।

यादवले कोसी आसपासका जनतालाई बाढी आएको समयमा उच्च सर्तकता अपनाउन आग्रह गनुभएको छ ।

More News last news
Loading...