आसन्न निर्वाचनका लागि परिवर्तन पक्षधर वामपन्थी मोर्चा निर्माण गर्दैछाैं : अध्यक्ष दाहाल

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले तत्काल समाजवादी केन्द्र नबन्ने बताउनुभएको छ । राजधानीमा भएकाे एक कार्यक्रममा सम्बाेधन गर्दै उहाँले आसन्न निर्वाचनमा परिवर्तन पक्षधर वामपन्थीको मोर्चा बनाउन खोजिएको प्रष्ट्याउनुभयो ।

“तत्काल समाजवादी केन्द्र बन्दैन, निर्वाचनका लागि वामपन्थीको मोर्चा बनाउन खोजिएको हो”, उहाँले भन्नुभयो, “त्यसमा छलफल जारी छ, निष्कर्ष निस्केको छैन ।”

Advertisement

वर्तमान सत्ता गठबन्धनमा रहेको वामपन्थी शक्तिहरु आगामी निर्वाचनमा मोर्चा बनाएर जान लागेका छन् । त्यसका लागि नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीलगायत दल आन्तरिक छलफलमा जुटेका छन् ।

अध्यक्ष दाहालले नेपाली राजनीतिको मूलधार माओवादी आन्दोलन भएको भन्दै जनताको असली पार्टी माओवादी भए पनि यो विषयलाई स्थापित गर्न नसकिएको बताउनुभयो । माओवादी पार्टीको दबाबमा ‘स्टेट पार्टनसीप प्रोग्राम’ (एसपिपी)लाई नेपाल सरकारले अस्वीकार गरेको जनाउँदै उहाँले विगतमा एसपिपीमा सहभागी हुनुपर्छ भनेर लागि परेको पार्टी र नेता अहिले बढी राष्ट्रवादी देखिन खोजेको बताउनुभयो ।

निर्वाचनसम्म वर्तमान गठबन्धनलाई कायमै बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्दै उहाँले आगामी निर्वाचनसम्म र आवश्यकता रहँदासम्म गठबन्धन कायम रहने बताउनुभयो । “परिवर्तनका एजेण्डा उल्ट्याउने प्रवृत्ति अहिले पनि जारी छ । त्यसकारण पनि गठबन्धन आवश्यक छ”, उहाँले भन्नुभयो ।

इतिहासकै राम्रो बजेट ल्याएको पूर्वअर्थमन्त्रीका बारेमा प्रतीपक्षी दलले अनावश्यक कुप्रचार गरेको उहाँले बताउनुभयो। “छानबिन समितिले प्रतिवेदन बुझाएको छ, पूर्वअर्थमन्त्री निर्दोष सावित हुनुभयो । यसले पनि पुष्टी गरेको छ”, अध्यक्ष दाहालले भन्नुभयो ।

More News last news
Loading...