गएराति आएको भारी वर्षाका कारण मेलम्ची-हेलम्बु सडक क्षतविक्षत बनेको छ । गएरातिदेखिको वर्षाका कारण सडकमा बाढी बस्दा यातायात सेवा अवरुद्ध बनेको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोले लोकान्तरलाई जानकारी दिए।
बाढीले हेलम्बुको चनौटेस्थित सडक, हेलम्बुकै ढुंगेबजार सडक र मेलम्चीको सीमखेत सडक पनि अवरुद्ध बनेको उनको भनाइ छ ।
उनले भने,‘म अहिले हेलम्बुस्थित क्षतिग्रस्त सडकमै छु, यहाँ मर्मतसम्भारको प्रयास भइरहेको छ ।’ उनले गएराति भारी वर्षा भएको र बाढी पनि ठूलो आएको जानकारी दिए।
‘ठाउँठाउँमा बिग्रेको सडक बन्ने क्रममा छन्, अबको २ घन्टाजतिमा यातायात शुरू हुन्छ भन्ने लागेको छ,’ अध्यक्ष ह्योल्मोले लोकान्तरसँग भने।
यता मेलम्ची नगरपालिका उपप्रमुखले गएरातिको वर्षाले सडकमा क्षति गराएको जानकारी दिइन्। मेलम्चीतर्फ तालामाराङ जाने सडकमा क्षति पुगेको उनको भनाइ छ । उनले केही खेतहरूमा पनि बाढी पसेको बताइन्।
उनले भनिन्,’अहिले नगरपालिकाको टिम सडक अवलोकनका लागि जाँदैछ, छिट्टै मर्मतसम्भार गरेर सञ्चालनमा आउनेछ भन्ने विश्वास छ ।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
