ठूला योजना जति ढिलासुस्तीको सूचीमा

खोटाङ । मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको सेखुवा–चखेवा भञ्ज्याङ (१० किलोमिटर) खण्ड कालोपत्रेको तेस्रोपल्ट थप भएको म्याद सकिँदा करिब ३५ प्रतिशत मात्र प्रगति भएको छ ।

भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्दिसाईले ठेक्का लिएको योजनाको तेस्रो म्याद गत ३० चैतमा नाघेको हो। सम्झौता अनुसार काम नगरेपछि थप भएको पहिलो म्याद १३ पुस २०७७ र दोस्रो म्याद १३ असार २०७८ मा सकिएको थियो।

Advertisement

कालोपत्रे हुनुपर्ने बाटो अहिले पनि कच्ची अवस्थामै छन् । भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्दिसाईले ३० फागुन २०७५ मा सम्पन्न गर्ने गरी २ चैत २०७२ मा चखेवाभञ्ज्याङ–सेखुवा खण्ड कालोपत्रेको सम्झौता गरेको थियो।

मध्यपहाडी लोकमार्गको खोटाङभित्र पर्ने अन्य खण्ड कालोपत्रे भइसकेको छ । तर, चखेवाभञ्ज्याङ–सेखुवा खण्ड कालोपत्रे नहुँदा खोटाङ र भोजपुर सिधा आवत–जावतमा समेत असर पुर्‍याइरहेको छ । निर्माण कम्पनीले अलपत्र पारेको सडक वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको बाँझेच्यानडाँडाका वडाध्यक्ष विजय गुरुङले बताए ।

म्याद सकियो, काम सकिएन

खोटाङको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक खण्ड कालोपत्रेको काम २०७७ भित्र सकिनु पर्ने हो । तर पछिल्लोपल्ट थप भएको म्याद सकिँदा समेत कालोपत्रे राख्ने तरखर भएको छैन । महुरे–फोक्सिङटार सडक खण्डमध्ये महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम भारत कन्स्ट्रक्सन/सिद्दिसाई जेभी र सिमपानी भञ्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) खण्डको काम देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले गरिरहेको छ।

भारत कन्स्ट्रक्सन/सिद्दिसाईले २९ असार २०७७ भित्र सम्पन्न गर्ने सर्तमा ३० असार २०७३ मा महुरे–राजापानीको सिमपानी सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो। ४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको करिब ४५/४६ प्रतिशत मात्र भौतिक प्रगति देखिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर (डिई) गोपाल खकुरेलले बताउँछन् ।

५५ करोड ८७ लाखमा १० साउन २०७७ भित्र सिमपानी भञ्ज्याङदेखि फोक्सिङटार खण्ड कालोपत्रे पूरा गर्ने सर्तमा देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले ११ साउन २०७३ मा ठेक्का सम्झौता गरेको थियो । हालसम्म सो खण्डको काम ५० प्रतिशत सकिएको छ। कोभिड–१९ को महामारी कारण देखाएर थप भएको दुवै खण्डको म्याद गत ३० चैतमा सकिएको हो ।

यस्तै, हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनाको मेनलाइनको दोस्रोपल्ट थप भएको म्याद सकिँदा करिब ७५ प्रतिशत मात्र काम सम्पन्न भएको छ। दवा–महादेव खिम्तीले दुधकोसीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने मेनलाइनको ठेक्का लिएको हो । कोभिड–१९ को कारण देखाउँदै दिवा–महादेव खिम्तीले दुई पल्ट थप म्याद पाउँदा पनि काम सम्पन्न गर्न नसकेको हो ।

सुरुको सम्झौतालाई आधार मान्ने हो भने सम्झौता म्याद नाघेको ३३ महिना बितिसकेको छ । दिवा–महादेव खिम्तीले भ्याट बाहेक ३१ करोड ७५ लाख ९६ हजार खर्चमा १७ पुस २०७६ मा सम्पन्न गर्नेगरी २१ असार २०७४ मा आयोजनाको मेनलाइनको कामको ठेक्का सम्झौता गरेको थियो ।

सोही आयोजना अन्तरगत काभ्रेडाँडामा निकालिएको पानीलाई महादेवस्थान, दुर्छिम र मंगलटारमा वितरण गर्ने कामको ठेक्का लिएको रमन सगरमाथा–सगरमाथा घिमिरे जेभी तथा भुम्जुडाँडामा निकालिएको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेमा वितरण गर्ने ठेक्का लामा कन्ट्रक्सनको काम उस्तै निराशाजनक छ।

२०७७ साल असार ३० गतेसम्ममा सक्ने सर्तमा २०७५ साल असार ३१ गते दुवै वितरणलाइनतर्फको कामको सम्झौता गरिएको थियो । रमन सगरमाथा-सगरमाथा घिमिरेले २६ करोड ७५ लाख ५१ हजार र लामा कन्ट्रक्सनले ३७ करोड ९३ लाख ५७ हजारमा वितरणलाइनको ठेक्का लिएको हो । कोभिडका कारण भन्दै दोस्रोपल्ट थप भएको वितरणलाइनतर्फको म्याद पनि ३० चैतमै सकिएको छ।

More News last news
Loading...