काठमाडौं । नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमिति निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूह तर्फबाट अध्यक्ष गोपालकृष्ण घिमिरेको अग्रता कायमै छ।
हालसम्म २५ केन्द्रको ३२०३ मत गणना गर्दा उनले एक हजार ९९० मत प्राप्त गरेका छन् । यस्तै प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले एक हजार चार मत पाएका छन् ।
नेपाल बार एसोसिएसन, २०७८ का प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार हालसम्म २५ केन्द्रको मतगणना सम्पन्न भएको छ।
छ स्थानमा गणना भइरहेकोमा अब विहीवारदेखि थप दुई स्थान बढाएर आठ स्थानमा मतगणना गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
हालसम्म गणना भएको मतमा घिमिरेले नेतृत्व गरेको समूहको अग्रता रहेको छ । महासचिवमा अञ्जिता खनाल एक हजार ७६५ र उनको प्रतिस्पर्धी केदारप्रसाद कोइराला एक हजार १५७ मत पाएका छन् ।
कोषाध्यक्ष भरतबहादुर राउतले एक हजार ९२८ मत र उनका प्रतिस्पर्धी जगतबहादुर कार्कीले एक हजार ६६ मत प्राप्त गरेका छन् ।
आज बिहानदेखि मतगणना सुरु भएको छ । शुक्रबारसम्म सम्पूर्ण नतिजा आउने गरी मतगणनाको तयारी भइरहेको प्रमुख निर्वाचन अधिकृत पाठकले जानकारी दिए ।
बारको यही चैत १९ गते काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको थियो ।
बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ मतदाता रहेका थिए । तीमध्ये सात हजार ४२९ मत खसेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
