छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको ज्यान गयो

काठमाडौँ । तनहुँ, पाल्पा, सिरहा र सिन्धुलीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको ज्यान गएको छ।

तनहुँको आँवुखैरेनी गाउँपालिका-२ ऐनामा ग २ ख ३०७ नम्बरको बस र ग३ च ६०१२ नम्बरको टाटासुमो आइतबार ठोक्किदा तीन जनाको ज्यान गएको हो। ज्यान गुमाउनेमा सुमो चालकसहित तीन जना रहेका छन्।

Advertisement

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको आबुखैरेनीस्थित हाडजोर्नी अस्पताल हुँदै पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका अन्य १० जनामध्ये एक जनाको आबुखैरेनीस्थित हाडजोर्नी अस्पताल र पाँच जनाको सोही अस्पताल हुँदै नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ। चार जना उपचार पश्चात डिस्चार्ज भएका छन्। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पाल्पाको तानसेन नगरपालिका–५ ढुङ्गाखानीमा लु १४ प ६८६४ नम्बरको मोटरसाइकल आइतबार राति दुर्घटना हुँदा चालकको ज्यान गएको छ। ज्यान गुमाउनेमा रिब्दिकोट गाउँपालिका भैरवस्थान बस्ने २० वर्षीय भरत गोदार रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मिसन अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो।

सिरहाको नरहा गाउँपालिका–३ खोरियाटोलमा बीआर ०७ एएम ३०६३ नम्बरको कार आइतबार राति दुर्घटना हुँदा कारमा सवार एक जनाको ज्यान गएको छ। ज्यान गुुुमाउनेमा धनुषा कमला नगरपालिका-१ हथलेटवा बस्ने २२ वर्षीय धिरज मण्डल रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका अन्य ३ जना घाइतेमध्ये १ जनालाई उपचारको लागि विराटनगर रिफर गरिएको छ। हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ।

सिन्धुलीको दुधौली नगरपालिका-५ ठाकुर खोलामा ना ३ ख ७४९० नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। दुर्घटनामा २४ जना घाइते भएका छन्। टिपरमा जन्ती सवार रहेका थिए।

More News last news
Loading...