काठमाडौँ । अभिनेत्री रेखा थापाविरुद्ध गालीगलौज गरेको आरोपमा प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएको छ ।
गालीगलौजको जाहेरी परेपछि काठमाडौँको बालाजुमा बस्दै आएकी शर्मिला वाइबालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द अर्यालले जानकारी दिए ।
उनीमाथि अभिनेत्री रेखा थापालाई गालीगलौज गरेको भन्दै गत शुक्रबार साइबर व्युरोमा जाहेरी परेको थियो । थापाको तर्फबाट उनकी दिदी तारा थापाले जाहेरी दर्ता गराएकी थिइन् ।
पल शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी नाबालिक पीडितको पक्षमा बोलेको भन्दै अभिनेत्री थापालाई गालीगलौज गरिएको उजुरीमा उल्लेख छ।
उनले अभिनेत्री थापासहित ऋचा शर्मालगायतलाई जथाभावी गालीगलौज गरेको प्रहरीले जनाएको छ। नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाह यतिबेला प्रहरी हिरासतमा छन्।
नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेपछि एक साताअघि १५ फागुनमा शाहले तनहुँ प्रहरी गिरफ्तारी दिएका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
