काठमाडौं l एमसीसीका विषयमा अन्यौलता बढ्दै गएसँगै विभिन्न राजनीतिक दलका नेताहरूले छलफललाई तीव्रता दिन थालेका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका छन् ।
उनी पार्टी उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पार्टी नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई साथमा लिएर बालकोट पुगेका हुन् ।
दिनभर सत्ता गठबन्धनका नेताहरूसँग छलफल गरेका देउवा साझ ओलीलाई भेट्न बालकोट पुगेका हुन् । उनीहरूबीचको भेटमा एमसीसीका विषयमा छलफल हुने बताइएको छ । एमसीसीलाई जसरी पनि संसद्बाट अनुमोदन गर्ने पक्षमा रहेका देउवा सत्ता गठबन्धनको साथ नभए प्रमुख प्रतिपक्षीलाई भए पनि साथमा लिएर जाने मनस्थितिमा छन् ।
प्रचण्ड भेट्न वामदेव पुगे खुमलटार
राष्ट्रिय सभाका सांसद वामदेव गौतम नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । उनले प्रचण्डलाई भेटेर पछिल्लो राजनीतिक गतिरोधका विषयमा छलफल गरेको बताइएको छ ।
प्रचण्डको सचिवालयका अनुसार दुई नेताबीच राष्ट्रिय राजनीतिमा देखिएको संकटका छलफल भएको छ । दुई नेताले संसद्मा दर्ता भएको एमसीसीका विषयमा समेत छलफल गरेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
