काठमाडौँ । उच्च अदालत पाटनले बतास समूहले सञ्चालन गरिरहेको पशुपति क्षेत्रको धर्मशाला सञ्चालनमा रोक नलगाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
पशुपति क्षेत्रको धर्मशालाको सञ्चालन जिम्मा पाएको होटल आनन्द प्रालिसँग सम्झौता पर्यटन मन्त्री प्रेम आलेको निर्देशनमा रद्द भएपछि त्यसविरुद्ध उच्च अदालत पाटनमा रिट परेको थियो।
होटल सञ्चालकले दायर गरेको रिटमा आज आइतवार सुनुवाइ गर्दै न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएर छलफलका लागि आउँदो ९ गते दुवै पक्षलाई बोलाएको छ।
आदेशमा अन्तरिम आदेशको टुङ्गो नलाग्दासम्म सम्झौताअनुसार होटल आनन्द प्रालिको सञ्चालनमा कुनै बाधा, अवरोध सृजना नगर्नू–नगराउनू भनी विपक्षीहरूको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको उल्लेख छ।
यो होटेलसँगको २०७६ वैशाख ३० गतेको करार सम्झौताअनुसार होटेल आनन्दको सञ्चालनमा बाधा नगर्न समेत आदेशमा भनिएको छ।
गत ११ माघमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रिस्तरीय निर्णयबाट नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता फिर्ता लिने निर्णय गरेका थिए।
कोष र बतास समूहअन्तर्गतको होटेल आनन्द प्रालिबीच सम्झौता भएर पशुपति धर्मशाला सञ्चालनमा आएको छ । कोषले निर्माण गरेको संरचनामा बतास समूहले महँगो मूल्य लिँदै होटेलका रुपमा धर्मशाला सञ्चालन गर्दै आएको आरोप लागेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
