काठमाडौंमा एक दम्पती मृत फेला, मोरङमा गाडिएको अवस्थामा दुई शव भेटियो

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३, बोजेनीमा एक दम्पती सुतेकै अवस्थामा मृत भेटिएका छन् । बुधबार राति खाना खाएर सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीया फुलकुमारी थिङ मृत अवस्थामा भेटिएको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ ।

प्रहरीका अनुसार, आज बिहान ७ बजेसम्म पनि उनीहरुले ढोका नखोलेपछि जेठो छोरा २६ वर्षीय सूर्यबहादुर थिङ ढोका फुटाएर घरभित्र प्रवेश गरेका थिए । त्यसक्रममा दुवै जना मृत अवस्थामा भेटिएको भन्दै उनले प्रहरी वृत्त, बौद्धमा खबर गरे ।

Advertisement

त्यसपछि प्रहरी वृत्त, बौद्ध र अपराध अनुसन्धान महाशाखाको टोली गएर अनुसन्धान गरेको थियो । अनुसन्धान अधिकृतहरुका अनुसार उनीहरु राति माकल बालेर सुतेका थिए ।

राति नै निस्सासिएर मृत्यु भएको हुनसक्ने प्रहरी अधिकृतहरुको अनुमान छ । प्रहरीले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञको टोली पनि घटनास्थलमा लगेको थियो । डाक्टरहरुले पनि शवमा बाहिरी चोटपटक नदेखिएको र निस्सासिएकै कारण मृत्यु भएको हुनसक्ने बताएका छन् ।

मोरङमा खाल्डोमा गाडिएको अवस्थामा दुई जनाको शव भेटियो

यसैगरी, मोरङको धनपालथान गाउँपालिका ७ कमलपुर नजिकैको उखुबारीमा दुई जनाको शव भेटिएको छ।
२० देखि २५ मिटरको दुरीमा दुई वटा खाल्डोमा गाडिएको अवस्थामा दुई जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

शव कसको हो भन्नेबारे भने खुलेको छैन । अहिले तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोली पनि घटनास्थलमा पुगेको छ । शवको प्रकृति हेर्दा हत्या गरी गाडेको हुन सक्ने प्रहरीले बताएको छ ।

More News last news
Loading...