काठमाडौं । काठमाडौं उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको संयुक्त बैठकले कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको हो ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको हो । यो निर्णयसँगै भेला, सम्मेलन, जुलुस निकाल्न रोक लागेको छ ।
यस्तै, काठमाडौं उपत्यकामा थप १,२८६ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा ९८०, ललितपुरमा २२१ र भक्तपुरमा ८५जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घन्टामा २४ सय ४४ जनामा संक्रमण
नेपालमा कोरोना संक्रमण दर तीव्र रूपमा फैलिएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा २४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आइतबार ११ सय ६७ र सोमबार १४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घन्टामा पन्ध्र हजार ३३ वटा नमुना परीक्षण गर्दा २४ सय ४४ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार दश हजार ६ सय ७८ जनामा गरिएको पीसीआर परीक्षणमा १९ सय ८१ जनामा र चार हजार तीन सय ८५ जनामा एन्टिजेन परीक्षण गर्दा ४६३ जनामा संक्रमण देखिएको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
