काठमाडौँ । डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लबले यसै वर्षको एएफसी कप छनोट खेल्ने भएको छ। सहिद स्मारक ए डिभिजन लिग ०७८ को सातौं चरणको समाप्तीमा मछिन्द्र शीर्ष स्थानमा रहने भएपछि उसले एएफसी खेल्ने निश्चित भएको हो।
मछिन्द्रले आइतबार दशरथ रङ्गशालामा भएको खेलमा पुलिसलाई १–० गोल अन्तरले हरायो। यो जितपछि मछिन्द्रको ७ खेलबाट १७ अंक भएको छ। यसअघि पहिलो स्थानमा रहेको मनाङ मर्स्याङ्दी १६ अंकसहित दोस्रो स्थानमा झरेको छ।
सुनिल बलले पहिलो हाफको २१ औं मिनेटमा गोल गरेका थिए। उनले विशाल राईको फ्रि किकमा हेडबाट गोल गरेका हुन्। यो उनको लिगमा पाँचौं व्यक्तिगत गोल हो र उनी यस लिगमा सर्वाधीक गोल गर्ने सूचीको शीर्षमा उक्लेका छन्।
यो हारपछि पुलिस ७ खेलबाट ६ अंकमै सीमित रह्यो र उसमाथि रेलिगेसन तनाव सुरु भएको छ। जितले मछिन्द्रको उपाधि यात्रा उसको पकडमा आएको छ।
यस्तै यस जितपछि लिगमा मछिन्द्रको अपराजित यात्रा १३ खेल पुगेको छ। मछिन्द्रले पहिलोपटक एएफसी कप छनोट खेल्न लागेको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
