काठमाडौँ । काठमाडौँको उपत्यकामा बुधबार बिहानैदेखि वर्षासँगै हिमपात सुरु भएको छ। काठमाडौँ उपत्यकाको पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा वर्षासँगै हिमपात सुरु भएको हो।
चन्द्रागिरिमा यो वर्षको पहिलो पटक हिमपात भएको हो। हिउँ डाँडामा बाक्लै जम्मा भइसकेको छ । चन्द्रागिर क्षेत्र सेताम्य छ।
दिउँसो भने मौसम प्रतिकूल हुने आँकलन गरिएको छ । बिहानै वर्षा र हिमपात भएपछि काठमाडौँ उपत्यकामा चिसो झनै बढेको छ ।

आज देशभर मौसम बदली भई देशैभरका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमताप भएको छ भने अन्य क्षेत्रमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्मै मौसममा आंशिकदेखि सामान्य बदली आई हिमपात र पानी पर्ने सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ पौष १४ गते (बुधबार)
दिउँसो : देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।
राती : देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।

२०७८ पौष १५ गते (बिहीबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।
राती : देशभर आंशिक देखी सामान्य बदली रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

२०७८ पौष १६ गते (शुक्रबार)
दिउँसो : देशभर आंशिक बदली रही एक वा दुई स्थानहरूमा हल्का वर्षा र गण्डकी प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।
राती : देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सफा रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
