एकीकृत समाजवादी र जनवादीबीच पार्टी एकताको घोषणा

समाजवादको लक्ष्य पूरा गर्ने प्रतिवद्द

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी जनवादीबीच पार्टी एकता भएको छ । मंगलवार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमकाबीच पार्टी एकता घोषणा गरिएको हो।

सो अवसरमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनवादीका महासचिव देवेन्द्रसिंह महता लगायतका नेताहरुलाई फूलमाला तथा अबिर लगाई स्वागत गरेका थिए।

Advertisement

पछिल्लो समय देशव्यापी संगठन विस्तारलाई तीव्र बनाएको एकीकृत समाजवादीले पार्टी एकता अभियानलाई समेत उच्च प्राथमिकतामा राखेको छ।

त्यसक्रममा नेकपा जनवादी नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीबाट अलग भई २०७७ मा भूमिगत रुपमा संगठित भएको नेकपा जनवादीसँग पहिलोपटक एकता भएको हो ।

पार्टी एकता घोषणा समारोहमा महासचिव महतासहित जानुका श्रेष्ठ, हिमालचन्द्र खरेल, साधुराम चौंलागाई, श्यामबहादुर बूढा, छत्र लाखे, विनोद थापा, मिना गिरी लगायतका नेताहरु एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता महताले जनयुद्धबाट जनताको मन जित्न सकिदैन भन्ने ठहर गरेर शान्ति सम्झौता मार्फत आफ्नो पार्टी मूलधारको राजनीतिमा आएको बताए ।

समाजवादी क्रान्तिलाई सफल बनाएर समाजवादको लक्ष्य पूरा गर्न पार्टी एक हुने निर्णय गरेको उनले प्रष्ट पारे । गणतन्त्रले मात्र जनताको सपना पूरा हुन नसकेकोले अब समाजवाद अपरिहार्य भएको उनको भनाई थियो।

नेता महताले अधिकांश नेताहरु निष्कलंक र बौद्धिक रहेको एकीकृत समाजवादीले युवापंक्तिलाई विश्वास गरेकोले पार्टीप्रतिको विश्वास थप बलियो भएको बताए।

ठूलो पार्टी हुँदैमा केही हुँदैन भन्ने कुरा विगतको दुई तिहाइ सरकारले प्रष्ट पारेको बताउदै उनले एकीकृत समाजवादी पार्टी वास्तविक नेपाली जनताको पार्टी बनाउन लागिपर्ने प्रतिवद्दता व्यक्त गरे ।

कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दलहरुबीचको एकताले इतिहासमा ठूला ठूला परिवर्तन सम्भव भएको बताए ।

२०४६ सालको जनआन्दोलनदेखि २०६३ को लोकतान्त्रिक आन्दोलन र अहिले प्रतिगमनविरुद्धको आन्दोलनसम्म दलहरुबीचको एकताका कारण सम्भव भएको अध्यक्ष नेपालको भनाइ थियो।

More News last news
Loading...