काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १४ गतेमा स्थानीय तहको निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रीहरुसँग शुक्रबार भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पहिलो चरणमा वैशाख १४ गते र दोस्रो चरणको २२ गते निर्वाचन गर्न सकिने जानकारी गराएका हुन्।
स्थानीय तहका पदाधिकारी पदावधि जेठ ५ गते सकिँदै छ। स्थानीय तह सञ्चालन ऐन अनुसार पदावधि सकिनु २ महिनाअघि निर्वाचन गरिसक्नु पर्ने व्यवस्था छ।
‘सम्पूर्ण सुरक्षा व्यवस्था मिलाई सबै स्थानीय तहको निर्वाचन एकै दिन गर्नु उपयुक्त हुने हुँदा २०७९ वैशाख १४ गते बुधबारका दिन निर्वाचनको मिति तोक्न उपयुक्त हुने र यदि कुनै कारण एकै दिन निर्वाचन गर्न संभव नभएमा पहिलो चरणको वैशाख १४ गते बुधबार र दोस्रो चरणको वैशाख २२ गते बिहीबार गर्न सकिने व्यहोरा प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी गराउनुभएको थियो,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
संविधानको धारा २२५ बमोजिम कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था छ । कार्यकाल समाप्त भएपछि स्थानीय तह संचालनसम्बन्धी कुनै स्पष्ट कानुनी व्यवस्था नभएकोले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ बमोजिम कार्यकाल समाप्त हुनुभन्दा २ महिनाअघि नै निर्वाचन गर्न आयोगले प्रस्ताव गरेको हो।
निर्वाचन तयारीका लागि आयोगलाई १२० दिन आवश्यक पर्ने आयोगले जनाएको छ। आजकै दिनलाई आधार मान्दा प्रस्तावित निर्वाचन आउन १ सय २४ दिन बाँकी छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
