काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको केन्द्रीय पदाधिकारी १५ जनाको बनाउने प्रस्ताव गरेका छन्।
शुक्रवार बसेको सो पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले उक्त प्रस्ताव गरेको एक स्थायी समिति सदस्यले बताए। उक्त प्रस्तावमाथि शनिबार बस्ने बैठकमा कुन पदमा कति संख्या भन्नेबारे छलफल गरेर निर्णयमा पुग्ने ती सदस्यको भनाइ छ।
‘पार्टीको केन्द्रीय पदाधिकारी संख्या १५ बनाउँदा ठिक होला भन्ने अध्यक्षको प्रस्ताव आएको छ। त्यसबारे शनिबार छलफल गरेर निर्णयमा पुगिन्छ’, ती सदस्यले भने, ‘निर्णय भैसकेको छैन।’
उनका अनुसार प्रचण्डले बैठकमा वरिष्ठ सहित सात उपाध्यक्ष राख्ने प्रस्ताव गरेका छन्। ‘अध्यक्ष एक, वरिष्ठ सहित सात उपाध्यक्ष, महासचिव एक, उपमहासचिव २ र तीन सचिव रहने प्रस्ताव छ’, ती सदस्यको भनाई छ।
यसअघि माओवादीले उपाध्यक्ष पद राख्ने भनेपनि कति संख्यामा भन्ने खुलाएको थिएन। त्यस्तै वरिष्ठ उपाध्यक्षको पनि माओवादीले यसअघि कुनै व्यवस्था गरेको थिएन। नेताहरुको व्यवस्थापन गर्न चुनौति देखिएपछि वरिष्ठ उपाध्यक्षको पद पनि सिर्जना गर्न लागेको नेताहरुको भनाई छ।
तर बैठकमा वरिष्ठ उपाध्यक्षको ठाउमा वरिष्ठ नेता राख्नुपर्ने र सात उपाध्यक्षको ठाउमा ५ राख्नुपर्ने भन्ने प्रस्ताव समेत अध्यक्ष बाहेकका नेताले गरेको बुझिएको छ।
पुस ११ देखि १३ सम्म सो पार्टीले राष्ट्रिय सम्मेलन गर्दैछ। सम्मेलनमार्फत विधानमा गरिने सो व्यवस्थाको अनुमोदन गर्ने माओवादीको तयारी छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
