प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक, एमालेले बहिस्कार गर्ने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । आइतबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठकको विषय भने खुलाइएको छ ।

प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ ।

Advertisement

स्रोतका अनुसार प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा बैठक सञ्चालन र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता अनुमोदनको विषयमा संसदमा भएका दलहरुसँग छलफल गर्न लागेका हुन्।

सरकारले संसदको चालु अधिवेशनबाटै एमसीसी सम्झौता पारित गर्ने तयारी गरेको छ । तर नेकपा एमालेले आफूले सांसदहरुलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै संसद अवरोध गर्दै आएको छ ।

त्यस्तै सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी केन्द्रलगायतका दल एमसीसी सम्झौता जस्ताको तस्तै पारित गर्न नहुने पक्षमा छन् ।

सर्वदलीय बैठकमा एमाले नजाने

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नजाने भएको छ।

अहिलेसम्म औपचारिक खबर नआएको र नेकपा एकीकृत समाजवादी पार्टीलाई पनि बोलाइएको हुँदा आफूहरू सर्वदलीय बैठकमा नजाने संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

‘अहिलेसम्म हामीलाई खबर आएको छैन। अध्यक्षसँग बुझ्दा पनि अहिलेसम्म खबर नआएको बताउनु भएको छ। औपचारिक पत्र पनि आएको छैन। स्वभाविक रूपमै माधव नेपालहरू उपस्थित भएको बैठकमा हामी उपस्थित हुँदैनौं,’ उनले भने।

प्रधानमन्त्री देउवाले आइतबार दिउँसो ४ बजे सर्वदलीय बैठक डाकेका छन्।

यसअघि शुक्रबार सर्वदलीय बैठक बोलाउन प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो। एमालेले यसअघि एकीकृत समाजवादीलाई संसदले मान्यता दिएको भन्दै अवरोध गर्दै आएको थियो।

More News last news
Loading...