काठमाडौँ । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर प्रसाद कोइरालाले आफू पराजित भए पनि आफ्ने टिमले विजयी हासिल गरेको बताएका छन्।
कोइराला पक्षले महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन बुधबार आयोजना गरेको कार्यक्रममा उनले भने, ‘नेपाली कांग्रेसका तपाइँ जस्ता साथीहरू, लोकतन्त्र प्रेमी नेपाली, कांग्रेसलाई माया गर्ने साथीहरू र आम जनताले हामीले लिएको कदम र हाम्रो टिमले लिएको कदमको विजय उहाँहरूले सोच्नुभएको छ। त्यसकारण पनि हामी विजयी भएका छौँ।’
आफू सभापति पदमा पराजित हुनुलाई स्वभाविक रूपमा लिएको उनले प्रष्टाए। उनले भने, ‘म पाजित भएँ, निर्वाचन भइसकेपछि कोही जित्छ, कोही हार्छ, त्यो स्वाभाविक नै हो। मैले यसलाई स्वाभाविक रूपमा लिएको छु। कुनै कुन्ठा बोकेको छैन्। कसले के गर्यो ? कसो गर्यो ? किन गर्यो ? भन्ने कुरा पनि मेरो मनमा छैन।’
निर्वाचित भइसकेपछि पनि देउवाले आफ्नो कार्यशैली नसुधारे आफ्नो टिम सशक्त रूपमा प्रस्तुत हुने उनले चेतावनी दिए। ‘जसरी साढे पाँच वर्ष पार्टी बेथितिको हिसावले चल्यो त्यसरी नै चल्न थाल्यो भने हामी सशक्त रूपमा प्रस्तुत हुन्छौँ’, उनले भने।
कांग्रेस भित्र युवा पुस्तालाई आफ्नो टिमले अवसरको ढोका खोलिदिएको उनले दाबी गरे। ‘हाम्रो राजनीतिक मुद्दा र एजेण्डा स्थापित भएको छ। त्यसकारण म नेपाली कांग्रेसको हुँ भनेर बस्न सक्नुहुनेछ भन्नेमा ढुक्क छु’, उनले भने।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
