दोस्रो चरणको निर्वाचन जारी, देउवा र कोइराला मतदानस्थलमा

काठमाडौं l नेपाली कांग्रेसको जारी महाधिवेशनमा नेतृत्व चयनका लागि दोस्रो चरणको निर्वाचन भइरहेको छ । सभापति पदका उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार अपरान्ह सवा ३ बजेबाट मतदान भइरहेको छ।

मतदानस्थलमा सभापतिका प्रतिस्पर्धीद्वय शेरबहादुर देउवा र शेखर कोइराला रहेका छन् । उनीहरू मध्ये देउवाले मतदान गरिसकेका छन् भने कोइरालाले गरेका छैनन् । यसअघि मतदानस्थलमा कोइराला जाने क्रममा कोइरालाका सहयोगी र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको थियो।

Advertisement

ठूला मान्छेहरू सरसर्ती भित्र छिरे, बिरामी छु भन्दै हात जाेड्दा जान पाइँन : ६० वर्षीया धनमन्तीदेवी

नेपाली कांग्रेसकाे जारी १४औँ महाधिवेशनमा प्रतिनिधि हुन पाउँदा सर्लाहीकी ६० वर्षीया धनमन्तीदेवी यादवकाे मनमा खुसीको सीमा नै थिएन । उनी २४ मंसिरकाे बिहानै काठमाडौं आइपुगिन् । पहिलाे चरणकाे मतदान पनि साढे ५ घण्टा लाइनमा बसेर करिब ५० मिनेट लगाएर गरिन् ।

तर, पहिलाे चरणको मतदानबाट सभापति टुङ्गिएन । दाेस्राे चरणकाे मतदान हुने भयाे । म‌ंगलबार दिउँसाे ३ बजेदेखि मतदान हुने भनेपछि उनले अघिल्लो दिन साढे पाँच घण्टा लाइनमा बसेकाे सम्झिन् । अनि छिट्टै गरी लाइनमा बस्न भनेर सवा १ बजे सभागृह आइपुगिन् । तर, उनलाई धेरैले उछिनिसकेका थिए ।

साढे डेढ घण्टा लाइनमा बसिन्, तर मतदान गर्ने पालाे त परकाे कुरा सभागृहकाे मुख्य प्रवेशद्वारबाट भित्र छिर्न समेत पाइनन् । लाइनमा बस्दाबस्दै उनलाई एक्कासि टाउकाे दुख्याे, चक्कर लाग्याे । उनी ढलिन् ।

`लाईनमा बस्दाबस्दै ढलेँ । त्यसपछि पानी खाएँ अनि एकछिन बसेँ । अलिक सन्चाे भएजस्ताे भयाे,´ उनी भन्छिन् । उनी मधुमेह र मुटु राेगबाट पीडित रहिछन् । त्यसैले भिडभाडमा लामाे समयसम्म उभिँदा सन्चाे हुन्न । बिरामी भए पनि उनकाे मन मतदान नगरी फर्कन मानेन ।

`म पहिल्यैदेखि राेगी छु । आज लाइनमा ढलेपछि बिरामी हुँ भन्दै लाइन नबसी भित्र छिर्न खाेजेँ । प्रहरीहरूलाई हात जाेडेँ । तर, हाम्रो कुरा कसले सुन्ने ?,´ उनले भनिन् ।

बिरामी हुँ भनेर पटकपटक उनले सुरक्षाकर्मीहरूलाई भित्र छिर्न दिन अनुरोध गरे पनि छिर्न पाइनन् । त्यसपछि उनी दिक्क हुँदै सुरक्षाकर्मीहरूकै आडमा चिसाे भुइँमा थचक्क बसिन् । उनी त्यहीँ बसिरहँदा थुप्रै भीभीआईपीहरू सरसर्ती भित्र छिरे । तर, उनी छिर्न पाइनन् । अनि उनकाे मन कुँडियाे । चित्त दुख्याे ।

`ठूला मान्छेलाई सजिलै भित्र छिर्न दिने, लाइन बस्न नपर्ने । बिरामीलाई भने भित्र छिर्न दिनुस् भनेर हात जाेड्दा पनि नदिने´, उनी दु:ख मान्दै भन्छिन् ।

More News last news
Loading...