काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौंबाट अहिलेसम्म कोही पनि पार्टीको सभापति हुन नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
मंसिर ९ देखि १३ गतेसम्म आयोजना गरिएको पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका सिंहले काठमाडौंका काँग्रेस कार्यकर्ता सधैं अरुको झोला बोक्ने मात्रै हुन् भन्दै नेता–कार्यकर्तालाई प्रश्नसमेत गरेका हुन् ।
आज नेपाली काँग्रेस नागार्जुन नगर समितिले आयोजना गरेको कार्यक्रममा नेता सिंहले भने, ‘अहिलेसम्म काठमाडौंबाट को पार्टी सभापति भएको छ ? के हामी सधैं झोला मात्रै बोकेर हिँड्नुपर्ने ?’
१३ औं महाधिवेशनमा आफू नउठेर रामचन्द्र पौडेल र शशांक कोइरालालाई सघाएको जिकीर गर्दै सिंहले भने, ‘त्याग नै त्याग भनेर मात्र हुन्छ ? १३ औं महाधिवेशनमा मैले रामचन्द्र पौडेललाई छाडेकै हो । म पहिले महामन्त्री जितेको हुँ । बीपीको छोरा महामन्त्री उठ्ने भनेर म नै त्यसबेला शशांक कोइरालाको प्रस्तावक बसेँ ।’
पदमा पुग्न होडबाजी गर्ने नेताहरुले पद पाइसकेपछि काम नगरेको भन्दै सभापति शेरबहादुर देउवाले पनि पद ओगटेको तर काम गर्न नसकेको आरोप लगाउँदै भने, ‘अहिलेको सभापतिलाई हेर्नुस् न, चार वर्षसम्म पनि विभाग गठन गर्न सक्नु भएन।’
पार्टीमा गूटै गूट रहेको भन्दै सिंहले थप्नुभयो, ‘ए कांग्रेस, बी कांग्रेस र सी कांग्रेसभन्दा पनि नेपाली कांग्रेस जनताले खोजेको हो।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
