काठमाडौँ । नेपाली काँग्रेसले क्रियाशील सदस्यता विवाद देखिएका १३ जिल्लाको अधिवेशन कात्तिक पहिलो साता गर्ने तयारी गरेको छ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील विवादका कारण कार्यतालिका अनुसार कुनै पनि अधिवेशन हुन नसकेका १३ जिल्लाको वडा, पालिका र जिल्ला अधिवेशन दशैँपछि अर्थात कात्तिक पहिलो साता गर्ने तयारी गरेको हो ।
क्रियाशील सदस्यता छानविन समितिले १३ जिल्लामध्ये १० जिल्लाको क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गरिसकेको जनाएको छ। अझै रसुवा, बारा र रौतहटको क्रियाशील सदस्य विवाद टुङ्गो लाग्न बाँकी छ।
अधिवेशन गर्न बाँकी रहेका जिल्लाको विवाद समाधान भएपछि नयाँ कार्यतालिका निकालेर अधिवेशन गर्ने निर्वाचन समितिले जनाएको छ। कांग्रेसले अहिलेसम्म ६४ जिल्लाहरुमा वडा र पालिका अधिवेशन सम्पन्न गरिसकेको छ।
२१ हिमाली जिल्लामा दशैँ अगाडी नै जिल्ला अधिवेशन सम्पन्न गरिसक्ने गरी कार्यतालिका बनाइएकोमा अहिलेसम्म १० जिल्लाको मात्र अधिवेशन सकिएको छ भने ७ जिल्लामा अधिवेशन भइरहेको छ। बाँकी ४ जिल्लामा अधिवेशन हुन बाँकी छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
