जसपाले चारवटा मन्त्रालय पाउने पक्का, मन्त्री छान्ने जिम्मा उपेन्द्र यादवलाई

काठमाडौं । सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित चार वटा मन्त्रालय पाउने भएको छ।

मंगलबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ गठबन्धन दलबीच आफ्नो पार्टीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय दिने सहमति भएको औपचारिक जानकारी गराएका हुन् ।

Advertisement

सत्तारुढ गठबन्धन दलको बैठक मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकले आफ्नो पार्टीलाई ४ वटा मन्त्रालय दिने निर्णय गरेको कुरा पार्टी संसदीय दलको नेता समेत रहेका अध्यक्ष यादवले संसदीय दलको बैठकमा जानकारी गराएको पार्टीका नेता राजकिशोर यादवले जानकारी दिए ।

त्यसैगरी बैठकले पार्टीको तर्फबाट मन्त्री बन्नेहरूको नामावली टुंगो लगाउने जिम्मेवारी अध्यक्ष यादवलाई नै दिएको छ। जनता समाजवादी पार्टी, नेपालका २१ जना सांसद रहेका छन् ।

सरकार गठन भएको ८३ दिनपछि बल्ल सत्तारुढ गठबन्धनले मन्त्रालय भागबण्डाको विषय टुंगो लगाएको हो। अब दलहरूले मन्त्रीको नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ।

More News last news
Loading...