विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज २ घण्टापछि काठमाडौंमै अवतरण

काठमाडौँ । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको एटीआर जहाज ल्यान्डिङ गियर (पाङ्ग्रा) नखुल्दा झन्डै दुई घण्टापछि काठमाडौंमै अवतरण गरिएको छ । ८ बजेर ३३ मिनेटमा काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको अल्फा नोभेम्बर इन्डिया जहाज विराटनगरको आकाशमा दुई फन्को लगाएर काठमाडौं फर्किएको हो।

बायाँपट्टिको ल्यान्डिङ गियरमा समस्या देखिएपछि काठमाडौं फर्किनु परेको बुद्ध एयरले जनाएको छ । काठमाडौंको आकाशमै झन्डै १० फन्को लगाएको उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० बजेर १६ मिनेटमा सुरक्षित रुपले अवतरण गरिएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए । काठमाडौंको आकाशमा उक्त जहाज २४ मिनेट होल्ड गरिएको थियो।

Advertisement

यो जहाजलाई काठमाडौंमा अवतरण गराउन आधा घण्टा विमानस्थल बन्द गरिएको थियो । अल्टिच्युड एयरका क्याप्टेन विवेक खड्काले हेलिप्याडबाट उक्त जहाजको तस्बिर खिचेर टावरलाई ल्यान्डिङ गियर खुलेको जानकारी गराएका थिए।

त्यस्तै काठमाडौंको टावरबाट बुद्ध एयरका क्याप्टेन र इन्जिनियरले दूरबिनबाट जहाजको ल्यान्डिङ गियर खुलेरनखुलेको हेरेका थिए । दूरबिनबाट पनि गियर खुलेको देखिएपछि जहाजका चालकलाई अवतरण गर्न सल्लाह दिइएको थियो । आकस्मिक अवतरण गर्नुपर्ने सम्भावनालाई मध्यनजर गर्दै इन्धन घटाउन जहाजले काठमाडौंमा धेरै पटक फन्को लगाएको थियो।

साथै आकस्मिक अवतरणको तयारीस्वरूप विमानस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना दमकलसहित उपस्थित थिए । तर आकस्मिक अवतरण नभई ‘एसुरेन्स ल्यान्डिङ’ भएको बुद्ध एयरले जनाएको छ । टावरबाट ल्यान्डिङ गियर खुलेको र सुरक्षित तरिकाले अवतरण गर्न सक्ने सुनिश्चित गरिएपछि चालकले जहाज अवतरण गराएका थिए।

More News last news
Loading...