काठमाडौँ । सरकारले काठमाडौंका १० स्थानमा विपन्न नागरिकलाई खाना खुवाउने घोषणा गरेको छ। शुक्रबार प्रतिनिधिसभामा बजेट प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो घोषणा गरेका हुन्।
त्यसरी खाना खुवाउन सरकारले सामाजिक संस्थाहरूसँग सहकार्य गर्ने जनाइएको छ। अर्थमन्त्री शर्माले भने, ‘शहरी विपन्न नागरिकहरूको लागि सामाजिक संस्थाको सहकार्यमा काठमाण्डौ उपत्यकाको कम्तिमा १० स्थानमा सुपथ र सुलभ खानाको व्यवस्था गरिनेछ।’
उच्च हिमाली क्षेत्रमा छरिएर रहेका घर परिवारलाई एकीकृत बस्तीको रूपमा विकास गर्दै जान नमुना एकीकृत बस्ती निर्माणको प्रारम्भ गरिने पनि सरकारले घोषणा गरेको छ।
कोरोना भ्याक्सिन किन्न १० प्रतिशत बजेट कटौती
सरकारले कोरोना भ्याक्सिन किन्न चालू खर्च तर्फका विभिन्न शीर्षकमा सरकारले १० प्रतिशत बजेट कटौती गरेको छ। अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बजेट अध्यादेश प्रतिस्थापन विधेयकमार्फत चालू खर्चका विभिन्न शीर्षकमा न्यूनतम १० प्रतिशतले बजेट कटौती हुने घोषणा गरेका हुन्।
बैठक भत्ता, इन्धन, मर्मत, कर्मचारी तालिम खर्च, सीप विकास तथा जनचेतना तालिम र गोष्ठीसम्बन्धी खर्च, कार्यक्रम खर्च, अनुगमन मूल्यांकन खर्च, भ्रमण खर्च र विविध कार्यक्रम खर्च शीर्षकमा १० प्रतिशत बजेट कटौती भएको छ।
यसरी कटौती गर्दा तत्काल ५ अर्ब रुपैयाँ बचत हुने देखिएको अर्थमन्त्रीले दाबी गरेका छन्। यो रकमबाट कोभिड–१० विरुद्धको खोप खरिद गर्ने सरकारले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
