५४ जिल्लामा सकियो काँग्रेसको वडा अधिवेशन, २० जिल्लामा क्रियाशिल समस्या यथावत

काठमाडौँ । नेपाली काँग्रेसको आसन्न १४औँ महाधिवेशन अन्तर्गत शुक्रबारदेखि प्रारम्भ भएको गाउँ–नगर वडा अधिवेशन ५४ जिल्लामा सम्पन्न भएको छ।

काँग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५७ जिल्लामध्ये ती जिल्लामा वडा अधिवेशन सम्पन्न भएको काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

Advertisement

अधिकांश वडामा सर्वसम्मत र केहीमा मतदानमार्फत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। क्रियाशील सदस्यता नामावली प्रकाशित भएका जिल्लामध्ये भदौ १८ गते ३५ जिल्ला, भदौ १९ गते दुई जिल्ला, भदौ २० गते एक जिल्लामा वडा अधिवेशन सम्पन्न भएको समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिए।

त्यस्तै, भदौ २१ गते ११ र आज भदौ २२ गते पाँच जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । भदौ २३ गते रुकुम पूर्व र रुकुम पश्चिममा अधिवेशन हुन लागेको उनले बताए । दोलखाको क्रियाशील सदस्यता नामावली सोमबार मात्रै प्राप्त भएकाले सो जिल्लामा वडा अधिवेशन केही दिनमा तोकिने समितिले जनाएको छ।

यसबाहेक २० जिल्लामा क्रियाशील सदस्यता नामावली प्रकाशनको हालसम्म टुङ्गो लाग्न सकेको छैन। अधिवेशन हुन बाँकी जिल्लामा पार्टी केन्द्रीय कार्यालयबाट नामावली प्राप्त हुनासाथ तत्काल निर्वाचन अधिकृत खटाई अधिवेशन गराउने तयारी अवस्थामा रहेको समितिले जनाएको छ।

करिब नौ लाखको सङ्ख्यामा रहेका काँग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ/नगर वडा अधिवेशनका मतदाता हुन्। क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्छन्।

वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई गरी सात पदाधिकारी निर्वाचित गर्ने काँग्रेसको विधानमा व्यवस्था छ। यसबाहेक मतदाता सङ्ख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन्छन्।

More News last news
Loading...