काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट निवेदन दायर भएको छ।
कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले अधिवक्ता भुपेन्द्र प्रसाद पोखरेलमार्फत दायर रिटमा कोरोना महामारीका कारण सरकारले निषेधाज्ञा जारी गरेकै अवस्थामा दशौँ हजारको उपस्थिति रहने महाधिवेशन प्रक्रिया सुरु गरिनु जनस्वास्थ्यको मापदण्ड प्रतिकूल हुने दाबी गरिएको छ।
साथै रिटमा महाधिवेशन रोक्न उपयुक्त आदेश माग गरिएको छ । सो रिटको पेशी आइतबारका लागि तोकिएको छ।
सभापतिमा साझा उम्मेदवार तय गर्ने पौडेल समूहको निर्णय
यस्तै, नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आसन्न १४औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार खोज्ने बताएको छ।
सभापतिका आकांक्षीहरुबीच सहमति हुन नसकेपछि नेताहरुले पत्रकार सम्मेलन गरेर सभापतिका उम्मेदवार साझा रूपमा चयन गर्ने बताएका हुन् ।
बिहीवार पार्टी कार्यालय, सानेपामा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले एकता महाधिवेशन अटुट रहेन बताए।
उनले भने, ‘पार्टी बचाउन हामी एक भएर अगाडि बढ्छौं। हाम्रो एकता महाधिवेशनसम्मै अटुट रहन्छ।’
यता सभापति देउवा टिममा रहेका उपसभापति विमलेन्द्र निधि, नेता गोपालमान श्रेष्ठले पनि सभापतिमा उम्मेद्वारी घोषणा गरिसकेका छन् भने नेता कृष्ण सिटौलाले पनि सभापतिमा उम्मेद्वारी दिने तयारी गरेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
