समाजवादी विधान: १७ पदाधिकारी, ७ उपाध्यक्ष रहने, परिषद्ले अध्यक्ष चुन्ने

वैज्ञानिक जनवाद पार्टीको रणनीतिक लक्ष्य

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आफ्नो अन्तरिम विधान पारित गरेको छ । नेकपा एमालेबाट विभाजित भई दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको उक्त पार्टीको चन्द्रागिरी हिल्समा बसेको बैठकले अन्तरिम विधान र घोषणापत्र अनुमोदन गरेको हो ।

पार्टीको छोटकरी नाम नेकपा (एस) राख्ने उल्लेख गरिएको विधानमा मार्क्सवाद-लेनिनवादलाई मार्ग निर्देशक सिद्धान्त मानिएको छ । यसअघि एमालेले मान्दै आएको जनताको बहुदलीय जनवादलाई त्याग्दै पार्टीले अबदेखि रणनीतिक लक्ष्य वैज्ञानिक समाजवादलाई बनाउने उल्लेख गरेको छ।

Advertisement

एमालेका अध्यक्ष केपी ओलीसँग चरम मतभेद भएपछि उक्त पार्टीका वरिष्ठ नेता माधव नेपालले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । पदाधिकारी र केन्द्रीय समितिको संरचना एमालेको भन्दा फरक बनाएको नेकपा एसले पार्टीमा अध्यक्ष, वरिष्ठ नेता, सात उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र सात सचिव सहित १७ जना पदाधिकारी राख्ने जनाएको छ।

केन्द्रीय कमिटी भने ११५ पूर्ण र ३६ वैकल्पिक सहित १५१ सदस्यीय केन्द्रीय हुने उल्लेख छ । महाधिवेशन नहुँदासम्मका लागि १५१ सदस्यीय केन्द्रीय समिति भने राष्ट्रिय परिषदले चुन्ने छ । जसमा ५१ सदस्यीय पोलिटब्यूरो र २१ सदस्यीय स्थायी समिति रहने छन् ।

प्रदेश, जिल्ला र स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष र सचिव रहने व्यवस्था गरिएको छ । हरेक ५ वर्षमा महाधिवेशन गरिने र त्यसले राष्ट्रिय परिषद्का सदस्यहरु चुन्ने उल्लेख छ ।

राष्ट्रिय परिषद्का सदस्यले नै केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोगका सदस्य र पदाधिकारीहरु चुन्नेछ । अर्थात पार्टीको अध्यक्ष र पदाधिकारी पनि महाधिवेशनबाट प्रत्यक्ष नभई राष्ट्रिय परिषद्बाट चुनिने छ ।

More News last news
Loading...