एकलौटी निर्णय फिर्ता लिन ओलीलाई नेपाल पक्षको चेतावनी

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई एकलौटी ढंगले गरेको निर्णय तत्काल फिर्ता लिन चेतावनी दिएको छ।

मंगलबार काठमाडौँको नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको नेपाल पक्षका नेताहरुको बैठकले अध्यक्ष ओलीले पछिल्लो समय गरेका निर्णयहरु तत्काल फिर्ता नलिए आफूहरु जुनसुकै निर्णय लिन पनि बाध्य हुने चेतावनी दिएको हो।

Advertisement

बैठकमा माधव पक्षका नेताहरुले सरकारले ल्याएको अध्यादेशका विषयमा पनि छलफल गरेका थिए।

बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता विरोध खतिवडाले भने, “हामी २२ जना सांसदहरु भेटघाट गरेका हौँ, जसमा वर्तमान स्थितिको, अध्यादेश आएको विषयमा, केपी ओली गुटले २६० जना सदस्यीय केन्द्रीय समिति निर्वाचन आयोगमा पठाएर जालझेल गरेको, जालझेललाई कसरी क्रस गर्ने भन्ने विषयमा परामर्श भयो।”

“हाम्रा लागि अध्यादेश आएको होइन, हामी त ३०/४० प्रतिशत नै छौँ, बरु महन्थ ठाकुरजीहरुका लागि सजिलो पार्न २० प्रतिशत भए पार्टी फुटाउन पाउने अध्यादेश आएको होला, केपी ओलीले जालझेल गरेर गरेका निर्णयहरु फिर्ता नलिए आवश्यकताले अघि बढ्छौ, केपीको कदम पार्टी विभाजन गर्ने प्लान र प्रयत्नमा छ, हामी अन्तिमसम्म एकता होस् भन्ने प्रयत्न गर्नेछौँ,” उनले भने ।

ओली पक्षको बैठकले राजनीतिक दल विभाजन सम्बन्धी खुकुलो प्रावधान राखेर अध्यादेश जारी गर्ने सरकारको निर्णय लगत्तै केन्द्रीय कमिटी सदस्यको संख्या बढाएको थियो।

मंगलबार पार्टी निर्णयको आधिकारिक माइन्युट भन्दै एमाले केपी ओली पक्षले केन्द्रीय सदस्यहरुको नाम थपेर आयोगलाई विवरण दिएको हो।

अग्नि खरेल र बाबुराम दाहालसहितको टोली मंगलबार निर्वाचन आयोग पुगेर केन्द्रीय कमिटीको विवरण अद्यावधिक गर्न लिखित आग्रह गरेको निर्वाचन आयोग स्रोतले जनाएको छ।

More News last news
Loading...