काठमाडौँ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) मा आबद्ध भएका अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले फेरि एक पटक च्याम्पियन्स लिग जित्ने आफ्नो लक्ष्य रहेको बताएका छन्। ‘मलाई लाग्छ यो गर्नका लागि हामीसँग यहाँ टिम छ’, मेस्सीले थपे।
बार्सिलोनाका लागि चार पटक च्याम्पियन्स लिग जितेका ३४ वर्षीय अर्जेन्टिनी कप्तानले पछिल्लो पटक सन् २०१५ मा यो उपाधि जिताएका थिए । पीएजसी भने अझै पहिलो उपाधिको खोजीमा छ, सन् २०२० को फाइनलमा ऊ बार्यन म्युनिखसँग पराजित भएको थियो।
‘मेरो लक्ष्य र सपना एक पटक फेरि च्याम्पियन्स लिग जित्नु हो’, पीएसजीमा दुई वर्षका लागि अनुबन्ध भएका मेस्सीले भने।
बार्सिलोनाले मेस्सीसँगको सम्झौतामा आर्थिक र संरचनात्मक कठिनाइ देखाउँदै अनुबन्ध नगरेपछि उनी पीएसजी आएका हुन्।
बार्सिलोनाका लागि सात सय ७८ खेल खेलेका मेस्सीले ६ सय ७२ गोल गरेका छन्। ६ पटक बालोन डी ओर जितेका मेस्सीले नाओ क्याम्पमा रहँदा ३५ ट्रफी पनि जिताएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
