यी चार केन्द्रबाट विद्यार्थीले कोरोना खोप लगाउन पाउने

काठमाडौँ । सरकारले त्रिभुवन विश्व विद्यालयले सञ्चालन गरिरहेको परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड-१९ विरुद्धको खोप दिने भएको छ।

स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा झलक शर्मा गौतमका अनुसार त्रिविद्वारा सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई तत्काल खोप दिने निर्णय भएको हो। खोप लगाउने विद्यार्थीले अनिवार्य रुपमा प्रवेश पत्र साथमा लैजानु पर्ने डा गौतमले जानकारी दिए।

Advertisement

उनका अनुसार काठमाडौँको प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल र राधास्वामी आइसोलेसन खोप केन्द्रमा गएर विद्यार्थीले खोप लगाउन पाउनेछन्। त्रिविले अहिले स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गरिरहेको छ।

मन्त्रालयका अनुसार त्रिविले सञ्चालन गर्ने परीक्षामा करिब ६० हजार विद्यार्थी रहेको अनुमान गरेको छ।

साउन २५ गते सत्तारुढ दल निकट पाँच विद्यार्थी संगठनहरुले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटी परीक्षामा सहभागी हुने विद्यार्थीलाई खोपको व्यवस्था गर्न भन्दै ज्ञापनपत्र बुझाएका थिए।

परीक्षा केन्द्रबाट संक्रमण फैलने त्रासले विद्यार्थीहरुमा मानसिक चिन्ता थपिएको भन्दै उनीहरुले परीक्षार्थीलाई खोपको व्यवस्था गर्न माग गरेका थिए।

नेपाल विद्यार्थी संघका महामन्त्री दिपक भट्टराईले परीक्षार्थीलाई खोपको व्यवस्था गरेको प्रति सरकारलाई धन्यवाद दिँदै शैक्षिक सत्र अवरुद्ध नहुने गरी खोप लगाउन योग्य सबै विद्यार्थीलाई सरकारले खोपको व्यवस्था मिलाउन माग गरे।

More News last news
Loading...