काठमाडौँ । नेकपा एमालेले आगामी भदौ २७ र २८ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ।
आज बसेको एमालेको केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटीले गरेको प्रस्ताव अनुमोदन गर्दै विधान अधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनले भने,‘२०७८ साल भदौ २७ र २८ गते विधान महाविधेशन गर्ने निर्णय गरेको छ।’
एमालेले पहिलोपटक विधान अधिवेशन गर्ने निर्णय गरेको हो । आजको बैठकले विधान महाधिवेशनका निम्ति ४ वटा समिति गठन गर्ने निर्णय समेत गरेको छ ।
प्रवक्ता ज्ञवालीका अनुसार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा राजनीतिक प्रतिवेदन मस्यौदा कमिटी, महासचिव ईश्वर पोखरेलको नेतृत्वमा संगठनात्मक प्रस्ताव मस्यौदा समिति, उपमहासचिव विष्णु पौडेलको नेतृत्वमा विधान संसोधन प्रस्ताव मस्यौदा र रामबहादुर थापाको नेतृत्वमा व्यवस्थापन कमिटी गठन गर्ने निर्णय गरेको छ।
त्यस्तै, अहिले कायम रहेको स्थायी कमिटी नराख्ने प्रस्ताव एमालेले गरेको छ । अब केन्द्रीय कमिटी र पोलिट व्यूरो रहने र सानो खालको सचिवालय रहने प्रस्ताव केन्द्रीय कमिटी बैठकले पारित गरेको छ।
एमालेले पार्टी अध्यक्ष वा अन्य तहका अध्यक्ष मात्रै प्रत्यक्ष निर्वाचित हुने र अन्य सबै पदाधिकारी मनोनयन गर्ने व्यवस्था समेत विधानमा व्यवस्था गर्ने प्रस्ताव गरेको छ।
केन्द्रीय कमिटीले पारित गरेको विधान आगामी बुधबारसम्म सबै स्थानीय तहमा पठाएर एक महिनाभित्र विधान संसोधनको प्रस्ताव केन्द्रमा पठाउन निर्देशन दिने निर्णय समेत गरेको छ ।
एमालेले पार्टी सदस्यता प्राप्तिको प्रक्रियालाई सहज बनाउने निर्णय गर्दै पालिकास्तरको कमिटीमा व्यक्तिले निवेदन दिने, पालिकाको सिफारिसमा जिल्लाले सदस्यता दिने र केन्द्रले प्रमाणित गरेर इन्ट्री गर्ने व्यवस्था मिलाउने प्रस्ताव समेत पारित गरेको छ ।
अहिले कायम रहेको १५९ केन्द्रीय कमिटीको संख्या बढाएर २ सय २५ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव समेत बैठकले पारित गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
