एजेन्सी । नेपाली मुलकी अस्मिता आले मगर इंग्लिस क्लब टोटेनहम हटस्परमा अनुबन्धित भएकी छिन् । टोटेनहमले १९ वर्षीय डिफेन्डर अस्मितालाई शुक्रबार एस्टन भिल्लाबाट दुई वर्षको लागि अनुबन्ध गरेको जनाएको छ।
उनले टोटेनहममा १३ नम्वरको जर्सी लगाउनेछन् । अस्मिता गत सिजन एस्टन भिल्लाको उत्कृष्ट खेलाडी घोषित हुँदै ‘प्लेयर अफ द सिजन’ चुनिएकी हुन् । अस्मिताले गत सिजनको वुमन्स सुपर लिगमा १८ खेल खेलेकी थिइन्।
इंग्ल्यान्डको यू–१९ टिमकी सदस्य समेत रहेकी अस्मिताले एस्टन भिल्लाको उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेपछि क्लबले व्यवसायिक सम्झौता गरेपछि २०१८ मा एस्टनको सिनियर टिममा डेब्यु गरेकी थिइन्।
अस्मिताले २०१७–१८ को सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै क्लबका खेलाडी, व्यवस्थापन र समर्थकलाई प्रभावित पारेकी थिइन् । अस्मिता ८ वर्षको उमेरमा क्लबको एकेडेमीमा आबद्ध भएकी थिइन् ।
‘म स्पर्समा सामेल हुन पाउँदा धेरै उत्साहित छु। क्लबको उत्कृष्ट प्रतिष्ठा र महत्वाकाङ्क्षा छ कि रेहाने (स्निर), स्टाफ र खेलाडीहरुबीच म एउटा हिस्सा बन्न चाहान्छु।’ स्पर्समा आबद्ध भएपछि अस्मिताले भनिन्, ‘रेहानेसँग धेरै सिक्न तत्पर छु । म सुरु गर्नको लागि पर्खन सक्दिन। आशा छ कि टिमलाई यो सिजन अझै राम्रो गर्न मद्दत गर्न सक्छु ।’
लामो समयदेखि इंग्ल्याण्डमा बसोबास गर्दै आइरहेकी अस्मिताका बुवा अमृत आले पूर्व गोरखा सैनिक हुन् । तनहुँका अमृत स्क्वासको राष्ट्रिय खेलाडी हुन् । अमृत आठौं दक्षिण एसियाली खेलकुद (साग) टिमको बन्द प्रशिक्षणमा पनि रहेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
