काठमाडौँ । म काठमाडौँको मुटु मानिने नक्साल नागपोखरीमा जन्मिएँ, हुर्किएँ। मेरो बाल्यकाल त्यही नागपोखरी वरिपरि बित्यो । अहिले पनि नागपोखरीमै बस्छु। त्यहाँ मेरो पुरानो शैलीको घर छ।
काठमाडौँको रैथाने आदिवासी हुनाले पहिल्यै आफ्नै घर थियो। तर, २०४५ सालको भुकम्पले घर भत्किएपछि करीव ४ बर्ष कोठा लिएर भाडामा बस्नु परेको थियो। त्यति बेलै हो, मैले भाडामा बसेको अनुभव गरेको। भूकम्पले घर चर्किएपछि पुनर्निर्माण गर्नु परेका थियो।
हास्यकलाकारको रुपमा कमाइ ठिकै थियो। कलाकारितामा जमिरहेकै बेलामा अमेरिका पुगेँ। आफ्ना दुई छोराहरुको भविष्य सम्झिएर अमेरिका गएको हुँ। अरु जस्तो शहरमा घरजग्गा जोड्नका लागि पैसा कमाउन भनेर अमेरिका गएको होइन। दुई छोराहरुको शिक्षादिक्षा र भविष्य निर्माण गरिदिन अमेरिका भास्सिएँ।
संयोग भनौं कि के भनौं । म अमेरिका ल्यान्ड गर्न त्यस्तै तीन घण्टाजति बाँकी थियो होला । त्यही समय अमेरिकाको ट्वीनटावरमा आतंकवादी हमला भयो । निकै अत्यासलाग्दो वातावरण बनेको थियो । म अमेरिका ७ बर्षजति बसेर स्वदेश फर्किएँ । अहिले आफ्नै मुलुकमा रमाइरहेको छु ।
म काठमाडौंमा जन्मिएको हुर्किएको हुनाले मारवाडी समुदायका साथीहरुसँग घुलमिल भइरहन्थेँ । उनीहरु व्यापार व्यवसायका कुरा गरिरहन्थे । खाली, लगानी गर्ने कुरा मात्र गर्थे । आफुसँग पैसा नभए पनि बैंकबाट ऋण लिएर व्यवसाय गर्नुपर्छ भन्ने उनीहरुको सोँच हुन्थ्यो । म पनि उनीहरुको व्यापार व्यवसाय गर्ने सोँचबाट निकै प्रभावित हुन्थेँ ।
उनीहरु भन्ने गर्थे, घर बनाउने पैसाले पहिला व्यापार व्यवसाय गर्ने, बरु आफु भाडाको घरमा बस्नु नै बृद्धिमानी हुन्छ । त्यतिबेला साथीहरुका कुरालाई त्यति गम्भिर रुपले नलिए पनि अहिले विचार गर्दा उनीहरुले ठिक कुरा गरेका रहेछन भन्ने लाग्छ।
हाम्रो समाजमा दुई थरिका मान्छेहरु हुन्छन्, एक थरी आफ्नै घर बनाएर बस्ने र अर्को थरि भाडाको घर बसेर घर बनाउने पैसाले व्यापार व्यवसाय गर्ने । मारवाडी समुदायका ती व्यवसायीहरु भाडाको घर बसेर व्यवसायमा लागानी गर्नुपर्ने सोचका थिए।
घर बनाउँदा जीवनभरको कमाइ खर्च हुन्छ । मलाई आफ्नै घरको कति आवश्यकता छ, अरुको घर भाडामा लिएर बस्दा जीवन चल्छ कि चल्दैनरु आफुसँग भएको पैसा घरमा लगाउँदा फाइदा हुन्छ कि व्यापारमारु यी कुराहरुको पहिल्यै लेखाजोेखा गरेर अगाडि बढ्दा सफलता मिल्छ ।
यदि घर आवश्यक नै हो भने आफुसँग भएको बजेटको पहिला नै लेखाजोखा गरी प्लान गरेर मात्र घर बनाउँदा राम्रो हुन्छ । काम गर्दै जाँदा पैसा पुगेन भने तपाईंको सपनाको घरले पूर्णता नपाउन सक्छ। त्यस्तो बेलामा आफुसँग भएको पैसा कतै लगानी गरेर प्रतिफल हात पारी घर बनाउने प्रकृया अगाडि बढाउँदा उत्तम हुन्छ।
हाम्रो समाजका मान्छेमा काठमाडौँमा घर बनाउनै पर्ने भन्ने सोचाई रहेको छ। जसले काठमाडौँमा घर ठड्यायो समाजमा उही प्रतिष्ठित हुन्छ । कुनै पनि मान्छेको सफलता मापन गर्ने भनेको उसले ठड्याउने घरले निर्धारण गर्न थालेको छ। सामाजिक प्रतिष्ठाकै लागि भए पनि मान्छेले सकिनसकी बैंकबाट चर्को ब्याजदरको ऋण लिएर भएपनि घर बनाउने गरिहेका छन्।
त्यसले गर्दा धेरै मानिसहरुले दुःख भोग्नु परिहेको हुन्छ । बैकबाट ऋण लिएर घर बनायो । घर पनि तयार भयो, बसाई पनि सरियो। तर, बैंकको ऋण नतिरुन्जेल होटलमा बसेको जस्तो हुन्छ । मिहेनत गरेर कमाएको जति पैसा बैंकको ब्याज र साँवाको किस्ता तिर्दा तिर्दा हैरान।
कमर्सियल क्षेत्र भएमा बैंक आफै पनि ऋण दिन आउँछन् । तर, अन्य कतै आफ्नो लागि मात्र घर बनाउनु परेमा धेरै बैंकमा धाइरहनुपर्ने अवस्था छ।
म फेरी पनि भन्छु, घर बनाउने पैसा लगानी गर्नुस् । लगानीका लागि प्रयाप्त अवसरहरु छन् । व्यापार व्यवसायबाट कमाइ भएपछि त्यस्ता घरहरु धेरै बनाउन सकिन्छ।
तपाईंले आफुसँग भएको पैसा शेयरमा लगानी गर्न सक्नुहुन्छ। शेयरबाट मान्छेले मालामाल कमाइरहेका पनि छन् । तर, लगानी सुझबुझपूर्ण हुनुपर्छ । लगानीका लागि अर्को क्षेत्र जग्गा हुन सक्छ। अहिले किनेको जग्गा अर्को वर्ष दोब्बर मूल्यको भएका उदाहरण छन्। त्यही जग्गा बिक्री गरेर घर किन्न वा बनाउन सकिन्छ।
पछिल्लो समय नयाँ नयाँ आइडियाका स्टार्टअप व्यवसाय पनि फस्टाइरहेका छन् । पसल, होटल, रेष्टुरेन्ट, कृषि लगायत क्षेत्रमा लगानी गरेर पनि मनग्ये कमाउन सकिन्छ । अलिकति फरकपन दिन सकेमा जुनसुकै व्यवसायमा सफल हुन सकिन्छ । एउटा सानो चिया पसल राखेर करोडौंको सम्पत्ति जोड्न सफल भएका समाचार हामीले धेरै सुनेका पनि छौं।
कुनै पनि व्यवसाय सानो ठूलो भन्ने हुँदैन । मिहिनेतसाथ काम गरेमा हरेक क्षेत्रमा सफलता मिल्छ। धेरैले सोच्छन्, ‘अढाइ तलाको घर बनाउँछु र एक तला भाडामा दिन्छु। आफु डेढ तलामा बस्छु । भाडाको घरमा बस्दा तिर्ने पैसा र एक तलाबाट आउने भाडा जोड्यो भने बैंकको किस्ता तिर्न पनि पुग्छ।’
एक किसिमले हेर्दा यो ठिकै पनि हो । तर, मेरो विचारमा घर बनाइसकेपछि भाडामा दिनु उचित काम होइन । एक त आनन्दसँग आफ्नै घरमा बस्ने भनेर बनाएको घरमा भाडामा बस्नेले शान्ति भङ्ग गरिदिन्छन् । अर्कोतिर किलाकाँटी ठोकिदिने, रङ बिगारिदिने, फोहोर गरिदिने, होहल्ला गर्ने भएकोले घर भाडामा दिएर पैसा खाने काम राम्रो होइन।
म अहिले पुरानो घरमा बस्छु। मलाई पनि रहर छ, भव्य घर बनाएर बस्ने । तर, मन भएर मात्र के गर्नु। आफ्नो बजेटले नयाँ घर बनाएर बस्न पुग्दैन। अझ कोभिड महामारीले सबैभन्दा ठूलो मारमा हामी कलाकार पनि परेका छौं।
कोभिडले कलाकारिताको क्षेत्रमा रहेका सबैलाई समस्या पारेको छ। धेरैको रोजीरोटी नै गुमेको छ। अझै कति समय कोभिडको प्रभाव रहिरहने हो यकिन छैन। नेपाल होम्स डटकमको सहयोगमा तयार पारिएको सामाग्री
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
