काठमाडौँ । उच्च शिक्षाका अध्ययनका लागि पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाह अमेरिका जाने भएका छन्।
हृदयेन्द्रले रविभवनस्थित लिंकन स्कुलबाट कक्षा १२ पास गरेका थिए। अमेरिका जानका लागि सबै प्रक्रिया पूरा भइसकेको र केही दिनपछि नै उनी अमेरिका जाने निर्मल निवास स्रोतले जनाएको छ।
हृदयेन्द्रले अमेरिकास्थित अध्ययन गर्ने विश्वविद्यालयको नाम भने गोप्य राखिएको छ। पूर्व नवयुवराज समेत रहेका हृदयेन्द्रको जेठ ९ गते कक्षा १२ को पढाई पूरा गरेर अनलाइनबाट दीक्षित भएको फोटो तथा शैक्षिक प्रमाणपत्र फेसबुकमार्फत सार्वजनिक भएको थियो।
शैक्षिक प्रमाणपत्रमा उनको नाम हृदयेन्द्र वीरबिक्रम शाह रहेको छ। हृदयेन्द्रले काठमाडौँको सुरुमा रुपिज इन्टरनेश्नल स्कूल त्यसपछि लिंकन स्कूलमा अध्ययन गरेका हुन्।
सन् २००२ मा नारायणहिटी राजदरबारमा जन्मिएका हृदयेन्द्र अहिले १८ वर्षका पुगेका छन्। उनका दुई दिदिहरु पूर्णिका र कीर्तिकाले थाईल्यान्डमा अध्ययन गर्दै आएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
