प्रभुराम शर्मा कायम मुकायम प्रधानसेनापति नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी छन्।

सैनिक ऐन, २०६३को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले बलाधिकृत रथी शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी हुन्।

Advertisement

प्रधान सेनापति पूर्णचन्द्र थापाको तीन वर्षे कार्यकाल भदौ २४ बाट समाप्त हुने तथा उनी साउन २५ गतेबाट घर बिदामा बस्ने भएकाले राष्ट्रपतिले कायम मुकायम तोकेकी हुन्। एक महिनापछि शर्मा नै प्रधान सेनापति बन्नेछन्।

साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको थियो। युद्ध कार्य महानिर्देशकको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका शर्मा सेनाभित्र ‘मिलनसार’ अधिकारीको रुपमा चिनिन्छन्।

शर्माले बलाध्यक्ष र बलाधिकृत दुवै रथीको जिम्मेवारी सम्हालेका छन्। शर्माको जन्म सन् १९६४ जनवरी ५ मा काठमाडौँमा भएको हो।

मिलिटरी एकेडेमीबाट ग्राजुएट भएपछि उनी पुरानो गोर्खा बटालियनमा कार्यरत भएका थिए। त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेका शर्माले भारतबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गरेका छन्।

भारत र अमेरिकामा उच्चशिक्षा एवं सैन्य कला हासिल गरेका शर्मा सेनाभित्र मिलनसार मात्रै नभई ‘एक्सन म्यान’का रुपमा पनि परिचित छन्। उनी सुप्रबल जनसेवाश्री पदकबाट सम्मानित भइसकेका छन्।

More News last news
Loading...