काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा नजाने भएको छ। पार्टी एकता प्रक्रिया चलिरहेको र अर्को पार्टी नबनाएकाले नेपाल पक्ष सरकारमा सहभागी नहुने निष्कर्षमा पुगेको नेताहरुले बताएका छन्।
नेपाल निकट नेता बेदुराम भुसालले भने, ‘तत्काल सरकारमा सहभागी हुदैनौं। सरकारमा सहभागी हुन शेरबहादुर देउवालाई विश्वासको मत दिएको होइन ।’
सत्तारुढ गठबन्धनले माधव नेपाल पक्षलाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता नेपालसँग लगातार संवाद गरी सरकारमा आउन आग्रह गरिरहेका छन्।
बिहीबार बिहान मात्रै प्रचण्ड माधव नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए। तर नेता नेपालले तत्काल सरकारमा सहभागी नहुने बताएका छन्। ३ साउनमा प्रधानमन्त्री देउवालाई नेता नेपालसहित एमालेका २२ सांसदले विश्वासको मत दिएका थिए।
बुधबार दिउँसो २२ सांसदसँग छलफल राखेका थिए। उक्त छलफलमा नेता नेपालले सरकारमा सहभागी हुन नसकिने जानकारी सांसदहरुलाई दिएको नेता बेदुराम भुसालले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
