काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिमा महन्थ ठाकुर पक्षको तुलनामा उपेन्द्र यादव पक्षमा दोब्बरभन्दा बढी सदस्य देखिएका छन्।
निर्वाचन आयोगले सोमबार सनाखतका लागि जसपा नेपालका कार्यकारिणी सदस्यहरुलाई आयोगमा बोलाएको थियो। सोही अनुसार आयोगमा उपस्थित भएका ५१ कार्यकारिणी समिति सदस्यमध्ये उपेन्द्र यादवको पक्षमा मात्रै ३४ जनाले समर्थन जनाएको छ।
यस्तै, महन्थ ठाकुरको पक्षमा भने १६ जनामात्रैको समर्थन रहेको आयोग स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार जसपाका कार्यकारिणी समिति सदस्य रेशम चौधरी भने तटस्थ रहे। उनले कसैको पनि पक्ष र विपक्षमा आफू नरहेको भन्दै तटस्थ रहने निर्णय गरेका हुन्।
यद्यपि कार्यकारिणी समिति सदस्यहरुको मत विभाजनबारे आयोगले आधिकारिक रुपमा केही खुलाएको छैन।
निर्वाचन आयोगमा विचाराधीन रहेको जसपाको आधिकारिकता सम्बन्धी मुद्दामा आयोगले आजै फैसला दिने अपेक्षा गरिएको छ। जसपाका नेता तथा कार्यकर्ताहरु आयोगको फैसलाको प्रतिक्षामा छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
